TodayPati

चीनले नेपालको दुई किलोमिटर भूमी अतिक्रमण गरेको काँग्रेसको दावी, ओली सरकार लाचार किन ?

टुडेपाटी

काठमाडौँ, असोज २९ गते ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले हुम्लामा चीनले सीमाना मिचेको करिब दुई किलोमिटर नेपाली भूमि अतिक्रमण गरेको दाबी गरेको छ । सरकारले प्रमाणमाथि समेत मौनता साँधेर बसेको काँग्रेसले बताएको छ ।
चीनले सीमा मिचेको छैन भनेर सरकारले हतारमा विज्ञप्ति निकालेको भन्दै यसअघि असन्तुष्टि जनाएको कांग्रेसले बुधबार विज्ञप्ति निकालेर पुनः सीमाबारे कुरा उठाएको छ।

Sponsored

‘चीनसँगको सीमामा सो भूगोलमा रहेका पिलर नम्बर ५ देखि १२ सम्मको सीमाक्षेत्रमा ११ दिन लगाएर गरेको अध्ययनको निष्कर्ष छ–नाम्खाको लिमीमा चीन सरकारले करिब दुई किलोमीटर नेपाली भूमि अतिक्रमण गरेको छ,’ प्रवक्ता विश्वप्रकाश शर्माले निकालेको विज्ञप्तिमा भनिएको छ।
हुम्लामा ‘चीनले सीमा मिचेको छैन’ भनेर हतारिएर टिप्पणी गर्ने सरकार सीमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बसेर त्यसलाई ढाकछोप गर्न प्रयत्नशील रहेको कांग्रेसको आरोप छ।

हुम्लास्थित स्थानीय प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी लगायतको नेतृत्वले असोज प्रथम सातामा स्थलगत अध्ययन गरेको प्रतिवेदन सरकारले सार्वजनिक नगरेपछि कांग्रेसले पार्टीको टोली त्यसतर्फ पठाएको शर्माले उल्लेख गरेका छन्।

‘असोज १४ गते कर्णाली प्रदेश सभाका विपक्षी नेता एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीवनबहादुर शाहीको नेतृत्वमा एक अध्ययन कार्यदल नाम्खा पुगेको थियो,’ उनले भनेका छन्, ‘दुई किलोमिटर भूमि अतिक्रमण हुँदा सूचना नराख्नु, जानकारी दिने सहायक प्रजिअलाई २४ घन्टे स्पष्टिकरण काट्नु, प्रजिअ नेतृत्वको टोली स्थलगत अध्ययनमा छँदै ‘सीमा मिचिएको छैन’ परराष्ट्र मन्त्रालय बोल्नु लज्जास्पद छ।’

Sponsored

नेपालको सीमा उत्तरी मित्र राष्ट्रबाट होस् या दक्षिणीबाट आफूहरूलाई दुबै अस्वीकार्य हुने कांग्रेसले बताएको छ।

‘हुम्लाको सीमामा चीनले गरेको अतिक्रमण एक सार्वभौम राष्ट्र नेपालका लागि गम्भीर आपत्तिको विषय हो। झनै आपत्ति, आश्चर्य र निन्दनीय विषय त नेपाल सरकारले गर्न खोजेको ढाकछोप र मौनता साथको राष्ट्रघात छ,’ कांग्रेसले भनेको छ, ‘कांग्रेस तत्काल धारणा सार्वजनिक गर्न नेपाल सरकार समक्ष माग गर्दै, राष्ट्रको साझा धारणा निर्माण गर्न, चीन सरकारसमक्ष ‘प्रोटेस्ट नोट’ पठाउन र कूटनैतिक संवादमार्फत् हल खोज्ने प्रक्रिया अविलम्ब सुरू गर्न माग गर्दछ।’

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *