TodayPati

सर्लाहीमा प्रहरी कार्यालय घेर्न पुगेका सांसदहरूमाथि अन्धाधुन्ध लाठीचार्ज, ५० भन्दा बढी प्रदर्शनकारी घाइते

टुडेपाटी-

जनकपुरधाम, असोज २८ गते ।

सर्लाहीको महेन्द्र रामको मृत्यु प्रकरणको सत्य तथ्य छानबिनको माग गर्दै नेपाली कांग्रेसले मलंगवामा बुधबार गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

Sponsored

रामनगर गाउँपालिका–७ बस्ने महेन्द्र रामको मृत्यु प्रकरणमा प्रतिनिधिसभा सांसद अमरेशनारायण सिंह, नागेन्द्रकुमार यादव, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुश्वाहा, प्रदेशसभा सदस्य वीरेन्द्रप्रसाद सिंहलगायतका नेता सहभागी रहेको विरोध प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । 

कांग्रेसले मलंगवाको मलंगवा पब्लिक मावि अगाडीबाट विरोध प्रदर्शन सुरु गरेको थियो । 

हत्याको छानबिन र उजुरी लिन माग गर्दै शान्तिपूर्ण प्रदर्शन जिल्ला प्रहरी कार्यालयअघि पुगेपछि प्रहरीले अन्धाधुन्ध अश्रुग्यास र लाठीचार्ज गरेको प्रदेशसभा सदस्य सिंहले बताए ।

Sponsored

प्रदेश सांसद सिंहले प्रहरीले सयौं राउण्ड हवाइ फायरसमेत गरेका दाबी गरेका छन् । प्रहरीको लाठी चार्जबाट ५० जनाभन्दा बढी प्रदर्शनकारी घाइते भएको उनले जानकारी दिए । 

सर्लाहीका एसपी सन्तोषसिंह राठौरले प्रदर्शन नरोके प्रतिनिधिसभा सदस्य अमरेशनारायण सिंहलाई हतकडी लगाएर थुन्ने धम्की दिएका थिए । 

कांग्रेसले घटनाका दोषीलाई कारबाही तथा मृतक रामलाई सहिद घोषणा गर्न माग गरेको छ । 

प्रदेश प्रहरी प्रमुख धिरजप्रताप सिंहले कांग्रेस कार्यकर्ता र प्रहरीबीच भएको झडपमा नेपाल प्रहरीका १५ र सशस्त्र प्रहरीका ४ जना घाइते भएको जानकारी दिएका छन् ।

घटनामा संलग्न देखिएका विजय महरा, विलासी महरा र रामप्रदेश महरालाई पक्राउ गरिएको सिंहले जानकारी दिएका छन् । 

रामनगर गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद वर्माले नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी गरेका छन् । 

सुरुदेखि नेपाली कांग्रेसमा रहेका राम नेकपामा जान नमानेपछि उनको हत्या भएको वर्माको दाबी छ । 

नेपाली कांग्रेसबाट निर्वाचित वर्माले प्रहरीले बाहिरका तीनजनालाई पक्राउ गरेर वास्तविक दोषीलाई जोगाउन खोजेको आरोप लगाएका छन् । यसअघि राम मृत्यु प्रकरणको विषयमा सत्यतथ्य छनबिन गर्न सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्रसमेत बुझाएको थियो ।

प्रहरीले घटनाको छानबिन नगरेर पीडित परिवारको तर्फबाट जाहेरीसमेत लिन नमानेका उसले आरोप लगाएको छ । रामनगर–७ सिसौट बस्ने राममाथि गत २१ गते बेलुका आफ्नो घरअघि बसिरहेको बेला १२-१५ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले धारिलो हतियारले आक्रमण गरेका थिए । 

आक्रमणमा परी गम्भीर घाइते भएका रामको २२ गते उपचारको क्रममा इन्डो अस्पताल वीरगंजमा मृत्यु भएको थियो । 

रामको निधनपछि शव परीक्षणका लागि सर्लाहीस्थित मलंगलवा अस्पतालमा परिवारले ल्याउन खोजेपनि प्रहरीले दबाब दिएर वीरगंजस्थित नारायणी अस्पतालमा राखेको कांग्रेसको आरोप छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *