सर्लाहीका उखु किसानलाई उठिबासको चिन्ता, साहुको ऋण तिर्न धमाधम जग्गा बेच्दै
रोहित महतो-
सर्लाही, माघ १४ गते ।
सर्लाही बसबरिया गाउँपालिका-३ का उखु किसान सूर्यनारायण राउतलाई साहुको ऋणले उठिबास गराउला भन्ने चिन्ता छ। उनले चर्को ब्याजमा ६० हजार रुपैयाँ लिएर उखु खेती गरेका थिए।
‘मिटर ब्याज’मा लिएको ऋण तीन वर्षमै साँवा-ब्याज गरी ५ लाख पुगिसकेको छ। तर, उनले उखु बेचेको पैसा अझै पाएका छैनन्। साहुबाट लिएको ऋणले उनको उठिबास हुने डर छ।
उखुको भुक्तानी नपाएपछि उनले खेत बचेर साहुलाई ऋण बुझाउँदै आएका छन्। धनकौलस्थित अन्नपूर्ण सुगर मिल्सबाट उनले २०७३ सालदेखि २०७५ सम्म बेचेको उखुको साढे तीन लाख रुपैयाँ पाएकी छैनन्।
करिब १२ दिनअघि सूर्यनारायणले ५ कट्ठा जग्गा बेचेर साहुको ऋण चुक्ता गरे। घरखर्च, औषधोपचार र छोराछोरी पढाउँदा लागेको ८५ हजार रुपैयाँ ऋण तिर्न अझै बाँकी छ।
‘चिनी मिलले हामीलाई पैसा दिएन। तर, महाजन (साहु)ले मान्दैन, खाद्यमल पसलेले मान्दैन नि! मिलले दिएपछि तिरुला भनी चार लाख रुपैँयाँ ऋण लिएको थिएँ। आखिर, बक्यौता चुक्ता गर्न ५ कट्ठा जग्गा बेच्नुपर्यो,’ राउतले भने।
सरकारी अनुदानको त कुरै छाडौं। सरकारले तोकेको मूल्यअनुसारै चार वर्षअघिको रकमसमेत पाउन आस मारिसकेका छन् उनले। उनी आइतबार फेरि पनि ऋण चुक्ता गर्न र छोराछोरी पढाउन अझै जग्गा बेच्न लागेका छन्, उनी गाउँमा जग्गा किन्ने मान्छे खोज्दै थिए। राउतको आफ्नो नाममा एक बिघा जग्गा छ। उनले पाँच वर्षअघि चार बिघा जग्गा भाडामा लिएर उखु खेती गरेका थिए।
उनले प्रति बिघा ५० हजार रुपैयाँका दरले वार्षिक दुई लाख रुपैयाँ जग्गाको भाडा बुझाउँदै आएका छन्। उखु खेती गर्दा आफ्नो परिवारको मिहिनेत छाडेर मल, मजदुरको ज्याला आदिमा एक बिघामा २५ हजार रुपैंयाँ खर्च हुने गरेको उनले बताए।
‘फेरि उखु काटेपछि उखु लोड गर्नेले प्रति क्वीन्टल ५० रुपैंयाँ लिन्छ। छिचोल्नेले प्रति क्वीनटल सय रुपैंयाँ लिन्छन्। उनीहरूलाई तुरुन्त कर्जा लिएर रकम तिर्नुपर्छ,’ उनले भने।
स्थानीय मनोजकुमार पटेलले करिब तीन वर्षअघि अन्नपूर्ण चिनी मिललाई बेचेको १ सय ८५ क्वीन्टल उखुको भुक्तानी पाएका छैनन्। बिउ, खाद्यमल र खेत तयारीका लािग साहुबाट ३६ प्रतिशतका दरले लिएको ७५ हजार रुपैँयाँ ऋण तीन वर्षमा ५ लाख पुगेको छ। उखुखेतीमै आश्रित पटेलले भुक्तानी नपाएकाले साहुको ऋण तिर्न ६ कट्ठा जग्गा बेच्नुपरेको दुखेसो पोखे।
‘सातजनाको परिवार छ। दुईजना छोरा बोर्डिङ पढिरहेका छन्। एक वर्षदेखि विद्यालयमा ‘फि’ तिरेको छैन,’ उनले भने, ‘फि नतिर्दा छुट्टीमा छोरालाई घर ल्याउन पाइँदैन। तर, चिनी मिलबाट पैसा कुरेर बस्नुबाहेक हामीसँग अर्को विकल्प छैन।’
अन्नपूर्ण चिनी मिलबाटै तीन वर्षअघिको सवा लाख रुपैँयाँ नपाउँदा भवानीपुरका रामनाथ महतोले जग्गा बेचेर छोरीको विवाह गरे। आठ जनाको परिवार रहेका उनले आफ्नै पैसा नपाउँदा सात कट्ठा जग्गा बेचेर छोरीको विवाह गरेको सुनाए। ‘मिलले समयमै पैसा दिँदैन। तीन वर्षको सावा लाख रुपैँया पुगेको रहेछ, अझै तिर्न बाँकी छ। अब भतिजलाई पनि पढाउनुछ। मिलले पैसा नदिए चार कट्ठा जग्गा बेचेर पढाउने सोच बनाएको छु,’ उनले भने ।
चिनी मिलले पैसा नदिँदा उखु खेतीका लागि मल खाद्य, बिउ तथा खेतको भाडा तिर्न खेत बन्धक राखी ऋण लिएको भवानीपुरका सीताराम महतोले जानकारी दिए।
अन्नपूर्ण चिनी मिलमा उखु बेचेका अधिकांश किसानले २०७४ र २०७५ सालको भुक्तानी अझै नपाएको जनाएका छन्। पैसा नपाएपछि खेतीपाती गर्न लिएको ऋण तिर्न तथा दैनिक गर्जो टार्न किसानले धमाधम जग्गा बेच्न थालेका छन्। पुस्तौदेखि परम्परागत खेती गर्दै आएका उखु किसानसँग ऋण चुक्ता गर्न र गुजाराका लागि जग्गा बेच्नुबाहेक कुनै विकल्प नभएको दाबी छ।
‘जग्गा बेच्नुबाहेक हामीसँग कुनै विकल्प छैन। भनेको बेलामा यतातिर जग्गा किन्ने मान्छे भेटिँदैनन्। अब कसरी बाँच्ने ?,’ स्थानीय दिनेश साहले भने।
भुक्तानी नपाउँदा कतिपय उखु किसानको घरजग्गासमेत लिलाम हुने अवस्थामा पुगेको छ। रामनगर नगरपालिकाका बाबुलाल रायले तीन वर्षको महालक्ष्मी सुगर मिल्स र अन्नपूर्ण सुगर मिल्सबाट पैसा नपाउँदा उनको घर नै लिलाम हुने अवस्थामा पुग्यो।
चिनी मिलले पैसा नदिँदा उखु खेतीका लागि मल खाद्य, बिउ तथा खेतको भाडा तिर्न खेत बन्धक राखी ऋण लिएको भवानीपुरका सीताराम महतोले जानकारी दिए।
अन्नपूर्ण सुगर मिल्सले सर्लाहीका उखु किसानको ३८ करोड रुपैँयाँ भुक्तानी दिन बाँकी छ। सत्ता, बल र पावर हुनेलाई मात्र चिनी मिलले भुक्तानी दिइरहेको किसानको आरोप छ। ‘नेताहरूसँग साँठघाट नहुने साना किसानले भुक्तानी नै पाउँदैनन्,’ स्थानीय रामनाथ महतोले सुनाए।