कानूनमन्त्री यादवले सदनमै झुठो बोलेर झुक्याए सांसद
टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।
प्रदेश २ को प्रदेशसभा बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेशसभा सदस्य रामअशिष यादवलाई झुक्याएका छन् ।
आइतबार प्रदेश अनुसन्धान व्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सर्बसम्मत पारित भयो । विधेयक पारित हुनु अगाडि त्यस उपर चलिरहेको छलफलमा प्रदेशसभा सदस्य रामअशिष यादवले विधेयकको दफा ६ को उपदफा (४) माथि टिप्पणी गरेका थिए ।
प्रदेशसभा सदस्य यादवले सो दफामा ब्युरो प्रमुखको पदावधिबारे सरकारलाई ध्यानाकर्षण गराउँदै भने,‘विधेयकमा लेखिएको छ, ब्युरो प्रमुखको पदावधि तीन वर्षको हुनेछ, कार्यकाल समप्त भएपछि पुनः एक कार्यकालका लागि नियुक्त गर्न सकिनेछ ।’ पदावधिको व्यवस्था त ठिकै छ तर पुनः एक कार्यकालका लागि नियुक्ति गर्नुपर्ने व्यवस्था उपयुक्त नलागेको उनले आफ्नो धारणा राखेका थिए ।
लगत्तै विधेयकमाथी भएको छलफलको क्रममा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले सो व्यवस्था नरहेको भन्दै सदनलाई नै झुक्याउने प्रयास गरेका थिए । मन्त्री यादवले सांसद यादवको प्रश्नको जवाफ दिदै उनले माननीय रामअशिष यादवले उठाउनु भएको प्रश्न जस्तो कुनै व्यवस्था नरहेको दाबी गरेका थिए । उनले भने,‘पदावधि ३ वर्षको छ भने थप १ वर्ष बढाउन सकिने मात्रै उल्लेख छ, पुनः एक कार्यकाल थप्ने व्यवस्था छैन ।’
जबकि विधेयकमा व्युरो प्रमुखको पदावधि ३ वर्षको हुने र कार्यकाल समाप्त भएपछि पुनः १ कार्यकालका लागि नियुक्त गर्न सकिने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ ।
Sponsored
विधेयकमा व्युरो प्रमुखको नियुक्ति मन्त्रालयको सिफारिशमा प्रदेश मन्त्रीपरिषदले गर्ने र सेवाको सबैभन्दा माथिल्लो पदमा कार्यरत अधिकारी वा प्रदेश प्रहरीको नायव महानिरीक्षकको पदमा रहेको अथवा प्रदेश प्रहरीको नायव महानिरीक्षक पदबाट अवकाश प्राप्त व्यक्ति व्युरो प्रमुखमा नियुक्त हुनसक्ने कुरा समेत स्पष्ट उल्लेख गरिएको छ ।