TodayPati

प्रदेश २ मा २७ हजार छोरीको घरमा ‘फ्री’ इन्टरनेट जडान गर्ने तयारी

टुडेपाटी-
जनकपुरधाम, असोज २६ गते ।

प्रदेश २ मा २७ हजार छोरीको घरमा निःशुल्क इन्टरनेट जडान हुने भएको छ । छोरी शिक्षा बीमा गराएका २६ हजार ९५६ छोरीको घरमा निःशुल्क इन्टरनेट जडानको तयारी भएको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ ।

प्रदेश सरकारको ‘बेटी पढाउ, बेटी बचाउ’ कार्यक्रम अन्तर्गत सञ्चालित छोरी शिक्षा बिमा कार्यक्रममा २ माघ २०७६ यता बिमा गराएकी छोरीको घरमा इन्टरनेट जडान गर्न लागिएको अभियानकी संयोजक प्रियंका यादवले जानकारी दिइन् ।

Sponsored

माघ २ गतेखि प्रदेश २ को १३६ वटै पालिकामा छोरी शिक्षा बिमाको शिविर सञ्चालन गरिएको थियो । त्यस यता २६ हजार ९५६ छोरीले बिमा गराएको मुख्यमन्त्री कार्यालयसंग तथ्यांक छ ।
महोत्तरीको लोहारपट्टी नगरपालिको छोरी शिक्षा बीमासम्बन्धी सम्पूर्ण कागजात तयार रहेकाले सोही नगरपालिकाबाट छोरीको घरमा निःशुल्क इन्टरनेट सेवा जडान गर्ने तयारी भएको संयोजक यादवले जानकारी दिइन् । अहिले छारी बिमा गराएको घरहरुमा इन्टरनेट जडान गर्न मोबाइल नम्बर संकलन गर्ने काम भइरहेको उनले बताइन् ।

प्रदेश २ का सबै १३६ पालिकाले छोरी बीमाको कागजात तयार गरेर मुख्यमन्त्री कार्यालयमा बुझाएपछि ती सबै पालिकाका छोरीको घरमा पालैपालै इन्टरनेट जडान गरिने कार्यालयले जनाएको छ ।सुविसु इन्टरनेट कम्पनीले बीमा भएको ती छोरीहरुको घरमा इन्टरनेट सेवा जडान गर्ने मुख्यमन्त्री कार्यालयले जनाएको छ ।

महिला हिंसा न्यूनीकरण, छोरीप्रतिको हेर्न दृष्टिकोण परिवर्तन तथा छोरीको राम्रो शिक्षादीक्षाको लागि प्रदेश २ मा ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियान चलाइएको छ। जसअन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम सञ्चालनमा छ। जसमा छोरी जन्मिनेबित्तिकै प्रदेश सरकारले ३७ हजार रुपैयाँ तिरेर ३ लाख रुपैयाँको बीमा गरिदिन्छ। जुन छोरीले २० वर्षपछि पाउने छन्। सुरुमा २०७५ मा योजना एक जना छोरीलाई १३ हजार ६ सय ४६ रुपैयाँ १५ पैसा तिरेर १ लाखको बीमा प्रदेश सरकारले गर्ने गरेको थियो।

Sponsored

मुख्यमन्त्री कार्यालयसँग माघदेखि यता २६ हजार ९५६ छोरीको बीमा भएको तथ्यांक छ भने प्रभु बैंकसँग २८ हजार ४५७ छोरीको बीमाको तथ्यांक रहेको मुख्यमन्त्री कार्यालयले जनाएको छ। लकडाउनको अवधिमा पनि केही पालिकाहरुले बीमा गरेकाले सो तथ्यांक प्रभु बैंकसँग रहेकाले बढेको हुन सक्ने संयोजक यादवले बताइन् ।

प्रदेश सरकारले छोरी शिक्षा बीमा गर्न दुई वर्ष अर्थात् असार २०७६ सम्मको लागि प्रभु बैंकसँग सम्झौता गरेको थियो । जसमा २ माघ २०७६ देखि छोरीको बीमा गराउनेको घरमा निःशुल्क इन्टरनेट जडान गर्ने पनि सम्झौता भएको थियो।

प्रभु बैंकसँगको सम्झौताका मिति सकिएकाले पुनः अर्को सम्झौताका लागि टेन्डर आह्वान गर्न बुधबार बेटी पढाऊ, बेटी बचाऊ निर्देशक समितिको बैठक बसेको थियो। मुख्यमन्त्री लालबाबु राउतको संयोजकत्वमा रहेको १३ सदस्य समितिको बसेको बैठकले पुनः छोरी शिक्षा बिमा सुरु गर्ने, प्रभावकारी ढंगले अगाडि बढाउने, इन्टरनेट जडान गर्नेलगायतका विषयमा छलफल तथा निर्णय भएको अभियानकी संयोजक यादवले जानकारी दिइन् ।

अब अर्को बैंकसंग छोरी शिक्षा बिमासम्बन्धी सम्झौता भएपछि बीमा कार्यक्रम सुरु हुने मुख्यमन्त्री कार्यायले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *