प्रदेश २ सरकारलाई आफ्नै गुप्तचर राख्न बाटो खुल्यो
टुडेपाटी-
जनकपुरधाम, असोज २५ गते ।
प्रदेश २ सरकारले आफ्नै अनुसन्धान अधिकारी (गुप्तचर) राख्ने बाटो खुलेको छ । आइतबार लामो अन्तरालपछि बसेको प्रदेशसभा बैठकमा प्रदेश अनुसन्धान ब्युरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित भएको हो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले संशोधनसहित प्रदेशसभामा लगेको उक्त विधेयक पारित भएसँगै प्रदेश सरकारलाई अनुसन्धान अधिकारी राख्ने बाटो खुलेको हो ।
उक्त विधेयक प्रदेश प्रमुखले प्रमाणीकरण गरेपछि प्रदेशभित्र शान्ति सुरक्षा तथा सुव्यवस्था कायम राख्नुका साथै आवश्यक सूचना संकलन गर्ने उद्देश्यका साथ आफ्नै अनुसन्धान ब्युरो गठन गरिने प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले बताए ।
प्रदेशभित्र शान्ति, सुरक्षा तथा सुव्यवस्था कायम राखी प्रदेशको आर्थिक हित, विकास, औद्योगिकरण र व्यापार व्यवसायको प्रवद्र्धन गर्न यस सम्बन्धी सूचना संकलन गरी प्रशोधन गर्न प्रदेश सरकारले आफ्नै गुप्तचर राख्ने छ ।
अनुसन्धान ब्युरोले प्रदेशभित्र भएका वा हुननसक्ने अपराध वा अपराधजन्य जानकारी तथा सूचना सङ्कलन गर्ने÷गराउने ब्युरोको काम तोकिएको छ । ब्युरोले प्रदेशभित्रको शान्ति सुरक्षा र सुव्यवस्था, प्रदेशको आर्थिक हित, आर्थिक विकास, औद्योगिकरण, व्यापार व्यवसाय प्रवद्र्धनलाई प्रतिकूल असर पार्ने वा पार्न सक्ने सूचना वा जनकारी सङ्कलन गर्नेछ ।
नेपालको सार्वभौमसत्ता, राष्ट्रिय सुरक्षा प्रतिकूल हुने वा खलल पार्ने प्रकृतिका सूचनासमेत जानकारी गराउनुपर्ने विधेयकमा उल्लेख छ । प्रदेश सरकारले कुनै खास विषयमा अनुसन्धान गर्न आदेश दिएमा अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने र प्रदेश सरकारले तोकिदिएको अन्य काम गर्ने वा गराउनुपर्ने समेत काम गर्नुपर्ने विधेयमा उल्लेख छ ।
Sponsored