दिलीपका आमाबुबा लगायत ६ जना विरुद्ध प्रहरीमा उजुरी
शैलेन्द्र क्रान्ति-
जनकपुरधाम, असोज २२ गते ।
अवैद्य खोला दोहन विरुद्ध अभियान चलाउँदा हत्या भएका धनुषाका २४ वर्षीय दिलीप महतोको घरपरिवार विरुद्ध प्रहरीमा उजुरी परेको छ । हत्या गर्ने चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर) का सञ्चालक विपीन महतो पक्षले दिलीपका आमाबुबा, दिदीबहिनी र भिनाजुसहित ६ जना विरुद्ध प्रहरीमा उजुरी दिएका हुन् ।
गएको भदौको अन्तिम साता इलाका प्रहरी कार्यालय ढल्केबरमा हत्या गर्ने मुख्य नाइके क्रसर सञ्चालक विपीन महतोका बुबा मिथिला नगरपालिका ५ श्रीपुर बस्ने साधुशरण महतोले दिलीपका परिवार विरुद्ध उजुरी दिएका थिए ।
बन्द रहेको चुरियामाई बालुवा प्रशोधन उद्योग (क्रसर)मा आगो लगाएको भन्दै दिलीपका बुबा रामजीवन महतो, आमा चन्द्रकला देवी महतो, दिदी कविताकुमारी महतो, बहिनी संगमकुमारी महतो, लक्ष्मीकुमारी महतो र भिनाजु उमेश कुमार महतो विरुद्ध साधुशरणले उजुरी दिएका हुन् ।
तर उजुरी भने अहिले प्रहरीले दर्ता गरेको छैन ।
दिएको उजुरी अनुसार घटनाको अनुसन्धान गरिरहेको र सत्य सावित भए मात्र दर्ता गरी कार्वाही प्रक्रिया अघि बढाउने इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक तीर्थ कार्कीले जानकारी दिए । ‘दिलीपका परिवार विरुद्ध उजुरी परेको छ । तर दर्ता भएको छैन । अनुसन्धान मात्र उनीहरुको संलग्नता प्रमाणि तभए मात्र दर्ता गर्छौ । अहिले अनुसन्धान गर्दैछौं ।’ प्रहरी निरीक्षक कार्कीले टुडेपाटीसंग भने ।
तर उजुरी परेपछि प्रहरीले दिलीपका बुबा रामजीवनलाई इलाकामा सोहि घटना विषयमा सोधपुछ र छलफलको समय लिन बोलाएका थिए ।
Sponsored
‘असोजको पहिलो साता छलफलकै लागि बोलाएपछि हामी विरुद्ध हत्यारा पक्षले उजुरी दिएको थहा पाएँ । प्रहरीले भन्यो फेरी बोलाउँछु भने आउनु भनेर’, दिलीपका बुबा रामजीवनले भने ‘क्रसरको घरको ओछ्यानमा आगो लगाएको र क्रसरमा चोरी गरेको भन्दै उजुरी दिएका छन् । जबकी हाम्रो परिवारको त्यसमा कुनै संलग्नता छैन । हामीलाई बदनाम र मेरो छोराको हत्या मुद्दालाई कमजोर पार्न खोज्दैछ ।’
भदौको अन्तिम साता क्रसर छेउमै रहेको दिलीपको खेतमा उनकी बहिनीहरु जाँदा क्रसर पुनः चलाउन ४।५ जनाले सरसफाई गर्दै थिए । सोहि विषयमा आफ्नो दाइले न्याय नपाउँदै फेरि क्रसर किन चलाउन खाजेको भन्दा त्यहाँ बसेकाहरुले गालीगलौज गरेको दिलीपकी बहिनी लक्ष्मीको भनाइ छ । त्यसपछि दुइतर्फी भानभान भएको थियो । सोहि राति क्रसरमा बस्ने घरमा ओछ्यानमा आगो लागेको थियो । आगो दिलीपकै परिवारले लगाइदिएको, क्रसरको मोटर चोरी गरेको तथा आगो लगाइदिने लगायतको धम्की दिएको भन्दै क्रसर सञ्चालक विपीनका बुबाले प्रहरीमा आफुहरु विरुद्ध निवेदन दिएको लक्ष्मीले बताइन् ।
‘हामी खेत गएको बेला उनीहरुले क्रसर चलाउन खोजेको भनेर किन चलाउन भनेको मात्र थियौं । उनीहरु तथानाम गाली गरे । सोहिको विषयमा समान्य विवाद भयो । सोहि रात आफैले आगो लगाएर हामीलाई फँसाउन प्रहरीमा उजुरी दिएका छन्’ लक्ष्मीले भनिन् ‘ क्रसरमा आगो लगाउनु परेको भए दाइकै हत्याको बेला लगाइदिन्थे नि ! अहिले किन लगाउनु, चोरी कसले गर्यो हामीलाई केहि थाहा छैन । दाइको हत्या गरे । अब झुटो उजुरी दिएर हामीलाई फँसाउन र बदनाम गर्न खोज्दैछन् ।’
बन्द क्रसर संचालन गर्न हत्याका मुख्य अभियुक्त विपीनका परिवारले धेरै पटक प्रयास समेत गरेका छन् । अहिले पनि क्रसरमा केहि मानिसहरु बस्दै आएका छन् ।
श्रीपुर गाउँको पूर्व छउमै रहेको औरही खोलाकै किनारमा सञ्चालित चुरियामाई बालुवा प्रशोधन उद्योगा दिलीको हत्याकै बेलादेखि बन्द रहेको छ । सोहि क्रसरका सञ्चालक विपीन महतो लगायतले अवैध खोला उत्खनन बन्द गराउन आएको बेला क्रसर नजिकै दिलीपलाई लिभरले कँखीमा प्रहार गरी टिपरले किचेर २०७६ पुस २५ गते बिहान हत्या गरेका थिए ।
हत्या लगतै पक्राउ क्रसर सञ्चालक विपिन महतो, टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो जिल्ला अदालत धनुषाको आदेशमा पूर्वपक्षका लागि कारागारमा छन् । यस्तै २५–२५ हजार रुपैयाँ धरौटीमा अदालतको आदेशबाट छ्टेका रोशन यादव, क्रसर सञ्चालकका सहयोगी जितेन्द्र भनिने सत्यानारायण महतो र बृजमोहन भनिने शत्रुधन महतो पुनः पक्राउ परेका थिए । क्रसर संचालक विपीनका भाई विनोद महतो अहिलेसम्म पक्राउ पर्न सकेका छैनन् ।