सरकारको निर्णयलाई धज्जी उडाउँदै महोत्तरीमा गेरुका मेला, महामारीबीच मेलामा हजारौंको भीड
नितेश यादव-
जनकपुरधाम, असोज १९ गते ।
कोरोना महामारीमा यसवर्ष गेरुका मेला नलाग्ने भएको नगरपालिकाले जारी गरेको सूचना कागजमै सीमित भएको देखिएको छ । महोत्तरीको लोहारपट्टी नगरपालिकामा प्रत्येक तीन वर्षमा पर्ने मलमासमा लाग्ने गरेको गेरुका मेला यसवर्ष कोरोना महामारीको जोखिममा मेला नलाग्ने नगरपालिकाले निर्णय गरेपनि धुमाधामका साथ लाग्र्दै आएको देखिएको हो ।
हिन्दु धर्मावलम्बीको शास्त्रीय विधि र परम्परा अनुसार प्रत्येक तीन वर्षमा पर्ने मलमास गएको असोज १ गतेदेखि ३० गतेसम्म रहने भएको छ । एक महिना लामो मलमासमा प्रत्येक आइतबार र मंगलबार लोहारपट्टी नगरपालिका–४ खुट्टा पिपराढीस्थित पवित्र स्नानको रुपमा रहेको गेरुकाधामको गेरुका नदीमा स्नान मेला लाग्दै आएको छ ।
मेला वषौं देखि लाग्ने गरेकोमा यस वर्ष कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेकोले नलाग्ने भएको नगर प्रमुख शैलेन्द्रकुमार यादवले सूचना नै जारी गरेको थियो । तर, सूचना कागजमै सीमित भएको देखिएको हो ।
सरकारबाट संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्धारित स्वास्थ्य मापदण्ड बमोजिम मेलामा दर्शनार्थीको भिडभाड हुने भएकोले मलमास मेला नलगाउनको लागि गेरुकाधाम र वरिपरिका क्षेत्रमा पसल, जादु, सर्कस, नाच, तमासा लगाउन वा कुनै बस्तु बेचबिखन हुने गरि कुनै किसिमको गतिविधि वा क्रियाकलाप नगर्ने गरि मेला आयोजनामा बन्देज गरिएको नगर प्रमुख यादवले भनेपनि सबै किसिमका गतिविधि खुल्ला रुपमा भएको आइतबार लागेको मेलाको दृश्यले प्रष्टाएको छ ।
मलमासमा लाग्ने गेरुकाधामको पवित्र नदीमा स्नान गर्नाले पुण्य प्राप्ती र विभिन्न रोग निको हुने जन विश्वास रहेको छ ।
Sponsored
मेला नियन्त्रणमा असफल नगरपालिका
मेला नलाग्न दिन प्रहरी परिचालन गरेको भएपनि लाखौंको संख्यामा दर्शनार्थी आउने भएकोले नियन्त्रण गर्न नसकिएको लोहारपट्टी नगरपालिकाका नगर प्रमुख शैलेन्द्रकुमार यादवले बताएका छन् । उनले भोलि (मंगलबार) लाग्ने मेलाको लागि प्रमुख जिल्ला अधिकारी समक्ष विशेष बैठक बसेको र उनीहरुको सुरक्षा समितिको बैठक गरेर थप निर्णय बमोजिम मेला नियन्त्रण गर्न पहल कदमी चाल्ने बताए ।
‘यस अगाडि सुरक्षाकर्मीको सहयोग भएपनि कम सुरक्षाकर्मीका कारण मेला नियन्त्रण गर्न असफल भयौं’, उनले थपे, ‘भोलिको मेलाका लागि हामीले सावधानी अपनाएको छौं’, मेला नियन्त्रण गर्न सफल हुने विश्वास मेयर यादवले व्यक्त गरे ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीमा मेला नियन्त्रण गर्न थप एक सय जना प्रहरी माग गरेको मेयर यादवले जानकारी दिए । त्यस्तै, मेला कसरी नियन्त्रण गर्ने भन्ने विषयमा अहिले पनि सुरक्षा समितिको बैठक जारी रहेको उनले बताए ।