प्रदेश २ मा ४०६ जना कोरोना संक्रमित डिस्चार्ज, दुई जनाको मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असोज १६ गते ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
२० महिला र ५९ पुरुष गरी कुल ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
गौर अस्पताल रौतहट, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजविराजमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजय झाले जानकारी दिनुभयो ।
शुक्रवार प्रदेशको सप्तरी जिल्लामा सबैभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीमा ९ महिला र १९ पुरुष गरी २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै, पर्सामा १० महिला र १४ पुरुष गरी २४ जना, बारामा १० जना पुरुष, सिरहामा ८ जना पुरुष, सर्लाही र धनुषामा ३/३ जना पुरुष र रौतहट र महोत्तरीमा १/१ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
प्रदेशमा शुक्रबार ७४ जना महिला र ३३२ पुरुष गरी कुल ४०६ जना निको भएर डिस्चार्ज भएका छन्
। योसँगै प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १० हजार ९ सय ७७ पुगेको छ ।
Sponsored
यस्तै प्रदेश २ मा कोरोना संक्रमणबाट शुक्रवार थप दुई जनाको मृत्यु भएको छ । योसँगै प्रदेशमा कोभिड १९ संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ३७ पुगेको छ ।
आज सप्तरी र सिरहा १/१ जना गरि दुई जनाको मृत्यु हो ।
सिरहाको सुखिपुर नगरपालिका २ का ५५ वर्षीय पुरुषको विराटनगरस्थित विराट टिचिङ अस्पताल लादै गर्दा एम्बुलेन्सनै मृत्यु भएको छ ।
सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्बर ५ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा विराटनगरस्थित नोवेल अस्पतालमा मृत्यु भएको निमित्त निर्देशक झाले बताउनुभयो ।
हालसम्म प्रदेशका ११५ जना पुरुष र २२ जना महिलाले कोरोना संक्रमणका कारण ज्यान गुमाएको छ । कोभिड १९ बाट हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लामा ४३ जनाको मृत्यु भएको छ। यस्तै बारामा १८ जना, धनुषा र सप्तरीमा १६/१६ जना, महोत्तरीमा १५ जना, सिरहामा १४ जना, रौतहट र सर्लाहीमा ७/७ जना र १ भारतीय नागरिकको कोरोना संक्रमणका कारण प्रदेश २ मा मृत्यु भएको छ ।