क्रसर डनहरुलाई प्रशासन संरक्षणको उपज हो दिलीपको हत्या !
शैलेन्द्र क्रान्ति (पत्रकार)
शुक्रबार सुतिरहेकै बेला बिहान ५ बजे मोबाइलमा घण्टी बज्यो । ब्युझिएँ । एक पटकमा फोन उठाउन सकिन । दोश्रो पटक फेरी फोन आयो, उठाएँ । मिथिला नगरपालिका ५ श्रीपुरका सुनिल भाई भन्नेले फोनमा भन्छन् ‘दाई दिलीपको हत्या भयो’ । म अकमकाए र सोधे कुन दिलीप ? उनले भने ‘ओमप्रकाश भन्ने दिलीपकुमार महतो । टिपरबलाले किचेर उसको विहानै औरही खोलामा हत्या गर्यो । दिलीपले हामीसंगै गाउँको पूर्व र पश्चिम पट्टीको खोलामा भइरहेको अवैध उत्खननको विरोध गर्दै आएका थिए । त्यही दिलीप ।’ मैले झण्डै डेढवर्ष अगाडीको कुरा सम्झे । एउटा गाउँमा उदाउन लागेका होनहार, आटिला, ईमान्दार युवाको निर्मम तरिकाले गरेको हत्याले निकै स्तव्ध भए । पत्रकार हुँ । समाचार लेख्नु हाम्रो दायित्व हो । सबैभन्दा पहिले समाचार ब्रेक गरे । र घटनाको बाँकी कुराहरु बुझ्न र लेख्न तर्फ लागे । विभिन्न तथ्यहरु खुल्दै गयो ।
झण्डै डेढ वर्ष अगाडीको कुरा हो । मिथिला नगरपालिका ५ श्रीपुर गाउँलाई नै जोखिममा पारेर अवैध उत्खनन हुँदा सुनिल र दिलीप लगायतका युवाहरुले मलाई एकपटक बसही खोलामा जसरी भएपनि केहि पत्रकारहरु आइदिनु पर्यो भन्दै आग्रह गरेका थिए । मैले त्यति बेला जनकपुरका ८।९ जना पत्रकार साथीहरुसंग समन्वय गरे । र हामी केहि पत्रकारको टीम ढल्केवरको पूर्वछेउमै रहेको बसही खोलामा पुग्यौं । दिलीप लगायतका युवाहरुको समुह गाउँ र अवैध उत्खनन भएको खोलाको दृश्य हामीलाई देखाए । त्यहाँ त स्थानीय प्रशासन, स्थानीय सरकारको मिलेमतोमा क्रसर र टिपर मालिकले अति नै गरेका थिए । २५ फिट गहिरोसम्म विघौं खोला खनेर तहस नहस पारेका थिए । त्यहाँ पत्रकार आएको थाहा पाएर केहि क्रसर र टिपर मालिकहरु पनि केहि चेलाचपाटे लिएर पुगे । युवाहरुको समुहलाई डारए, धम्काएकाए । पत्रकारहरु भएको कारणले युवाहरुलाई उनीहरुले कुटपीट नै गर्ने आँट गरेन ।
त्यस अघि कतिपटक ती अवैध उत्खननको विरोध गर्ने गर्ने युवाहरुको समुहसंग क्रसर तथा टिपर मालिक र ईलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरीसंग कति पटक विवाद समेत भएको थियो । कति पटक जोखिम मोल्दै स्थानीय तथा युवाहरुको समुहले टिपर र चालकलाई समातेर ईलाका प्रहरी कार्यालय ढल्केबरको जिम्मा लिएका थिए । तर ईलाकाले समातेको टिपर आपसी मिलेमतोमा छाडिदिने गरेको थियो । उत्खननको बेला स्थानीयले बोलाउँदा प्रहरी नजाने र समातेर कार्वाहीको लागि जिम्मा लगाएको गाडी मिलेमतोमा त्यसै छाडि दिन्थे । सबै पक्षहरुसंग बुझेर हामी रिर्पोटिंग गरी जनकपुर फर्कियौं । पत्रकारहरुले आ आफ्नो हिँसाबले विभिन्न संचार माध्यमहरुमा समाचार सम्प्रेशन तथा प्रकाशन गर्यौं । केहि दिनसम्म अवैध खोला उत्खनन नियन्त्रण रह्यो ।
केहि समय पश्चात अवैध खोला उत्खननको धन्धा चलि रह्यो । हालपनि उस्तै छ । त्यसको फलस्वरुप मिथिला नगरपालिका भित्रको अधिकांश खोलाहरुमा स्थानीय प्रशासन र स्थानीय सरकारको मिलेमतोमा क्रसर तथा टिपर मालिकले वितण्डा नै मच्चाएका छन् । जसको कारण त्यहाँका कतिपय गाउँटोल र चुरे निकै जोखिममा छन् । यसरी स्थानीय युवाहरु अवैध उत्खननको विरुमा रहेर अभियान चलाइरहे । स्थानीय प्रहरी प्रशासन, स्थानीय सकरारका जनप्रतिनिधीहरु कमिसनमा खाँदै मोटाए र मुकदर्शक रहे । बिच बिचममा हामी पत्रकारहरुले अवैध खोला दोहनको समाचार लेख्ने काम गरिरह्यौं । तर प्रशासननै मुक दर्शक भएपछि कसको के लाग्छ र ?
क्रसर तथा टिपर मालिक खोला खन्दै बच्दै मालामाल भए । प्रहरी प्रशासन नै मिलीसकेपछि कसको बाउको के लाग्छ र ? भन्दै क्रसर तथा टिपर मालिकहरुको आत्मबल बढ्दै गयो । अवैध खोला उत्खननको विरोध गर्नेहरु कतिलाई प्रलोभनमा पारे । कतिलाई धम्काए । कति युवालाई नत प्रलोभनले फरक पार्यो, नत धाकधम्कीले । त्यस्ता युवाहरु निरन्तर अवैध खोला उत्खननको विरोध गरिरहे । र प्रहरी प्रशासनको आडमा अन्तमा क्रसर मालिकहरुको यतिसम्म उच्च मनोबल बढ्यो कि निरन्तर अवैध खोला उत्खननको अभियानमा सक्रिय रहेका जुझारु युवा दिलीप महतोलाई नै मार्नेसम्मको योजना बनाए । पटक पटक दिलीप तथा उनका परिवारलाई धाकधम्की दिए । प्रलोभन दिए । तर केहि चलेन । दिलीप आफ्नो लक्ष्य उदेश्यप्रति अटल थिए । दुईदिन अघि मात्र त्यहाँका क्रसर संचालक विपीन महतो भन्नेले दिलीपका बुबा रामजीवन महतोलाई घरमै पुगेर धम्की दिएका थिए ‘छोरालाई सम्झाएर राख्नुस् । नत्र कुनै दिन टिपरले किचिदिन्छु ।’ शुक्रबार विहान खोलामा फेरी अवैध उत्खन् हुँदै छ भन्ने थाहा पाएपछि दिलीप विहानै ४ बजे नै उठेर छिमेक रोशन यादवसंगै खोला तिर लम्किए । रोशन बिरामी भएले केहि पछाडि नै थिए । दिलीप अगाडी टिपर भएको ठाउँमा दौडे । त्यहाँ उनलाई टिपर चलाक लगायतले कुटपीट गरी बेहोस् बनाए र अन्तमा टाउकोमै टिपर चढाएर हत्या गरे । जस्तो तथ्यहरु बाहिर आएको छ ।
क्रसर डनहरु अवैध खोला उत्खनन्ले मालामाल भएका हुन्छन् । उनीहरु सकेसम्म आफ्ना अवैध धन्धालाई फस्टाउन प्रहरी, प्रशासन, स्थानीय बोलबालाबला युवा, वुद्धिजिवी प्रशासन, जनप्रतिनिधि र ठुलठुला नेतालाई प्रभावमा पारेर मुख थुन्न कुनै कसर बाँकी राख्दैनन् । र हाम्रो समाजमा अहिले पनि रुपिया पैसामा नपाउने, नविक्ने कुरा कमै रहेछन् । चाहे त्यो कुनै वस्तु होस् वा मानिस अथवा प्रहरीप्रशासन । देशमा अपराध र अपराधी बढ्नुको एउटा मूल कारण यो पनि हो । सम्भवतः यसको कारणले पनि प्रहरी प्रशासनको क्रसरडनहरुसंग बढी साँठगाठ हुन्छन् । विगतमा अवैध उत्खनन् रोक्न युवा तथा गाउँलेहरुले प्रहरीलाई गुहार्दा प्रहरीले बेवास्ता गर्दै आएका छन् । जुन कुरा कतै न कतै पुष्टि हुन्छ नै । त्यहि भयो दिलीपको हत्या अघि र पछि पनि । दिलीपको हत्या पश्चात पनि प्रहरीले घटनास्थलको मुचुलका विनै हतार हतार शव उठाएर पोस्टमार्टमका लागि लगे । कारण के थियो ? यस्तो सम्वेदनशील घटनामा अनुसन्धानमा कठिनाई नहोस्, भनेर प्रहरी मुचुल्का नगरुञ्जेल घण्टौं घटनास्थल घेरेर बस्छन् । घटनास्थलमा विभिन्न तथ्यहरु भेट्छन् । तर यो घट्नालाई मोड्न हतार हतार प्रहरीले शव उठाएर लग्नुले जनतामा संदेह जन्माउनु स्वभाविक हो ।
यस्तो घटनाले समाज रुपमान्तरणका लागि गलत गतिविधिको विरोध गर्दै अभियान चलाउने युवाहरुको मनोदशा कस्तो होला ? । दिलीप जस्ता युवाको हत्याले प्रहरी प्रशासन र सरकारकै संरक्षणमा अपाराधी मनोवृति फस्टाएको छरपष्ट हुन्छ । जुन सुनियोजित रुपमा एउटा जल्दाबल्दा समाज रुपान्तरणका अभियानी दिलीपको निर्ममतापूर्वक हत्या भएको छ, उनका हत्याराहरुलाई कानुनी कठेरामा उभ्याएर कडा दण्डसजाय नभएसम्म दिलीपले न्याय पाएको आम समाजलाई महसुस हुने छैन । र दिलीपको आत्माले समेत शान्ति पाउने छैनन् । दिलीपको आत्माको चिरशान्तिको कामनाको लागि आम समाजले उनका दोषीहरुमाथि कडा कार्वाहीको लागि अग्रसरताको खाँचो छ । अन्तमा दिलीपको आत्माको चिरशान्तिको कामकानको लागि दोषीहरु कानुनी दायरमा आओस् र सजाय पाओस् भन्ने कामना गर्दछु । हार्दिक श्रद्धाञ्जली भाई दिलीप महतो ।