महोत्तरीका एक स्वास्थ्यकर्मीको कोरानाबाट मृत्यु
टुडेपाटी-
जनकपुरधाम, असोज १२ गते ।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट महोत्तरीको एक स्वास्थ्यकर्मीको मृत्यु भएको छ । पर्सामा कार्यरत मनरा सिसबा नगरपालिका–७ सरपलो घर भएका ५८ वर्षीय स्वास्थ्यकर्मीको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौंस्थित करुणा अस्पतालमा उनको मृत्यु भएको स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए । भेन्टिलेटरमा राखेर उपचार चलिरहेकै अवस्थामा मृत्यु भएको हो । जगनाथपुरमा हुँदा भदौ १९ गते उनलाई रुघाखोकी र ज्वरो आएको थियो ।
महोत्तरीमा एक्लै भएकोले उनी बिदा लिएर घर गएका थिए । घरमा गएर आराम गर्दा समेत स्वास्थ्यमा सुधार नआएपछि उनलाई उपचारका लागि जनकपुरमा ल्याइएको थियो । चन्द्रकला अस्पताल जनकपुरमा उपचार गराउँदा पनि स्वास्थ्यमा खासै सुधार नआएपछि उनलाई थप उपचारका लागि असोज १ गते काठमाडौं लगिएको थियो ।
उपचारका लागि टिचिङ अस्पताल लगिए पनि त्यहाँ आईसीयू बेड खाली नभएपछि उनलाई करुणा अस्पतालमा भर्ना गरिएको थियो । असोज ५ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । अवस्था गम्भीर बन्दै गएपछि असोज ७ गते रातिदेखि नै उनलाई भेन्टिलेटरमा राखिएको थियो ।
Sponsored