प्रदेश २ : कृषिमन्त्री साहले गुण्डा भिराएर सचिवलाई हाजिर हुन दिएन, मन्त्रालयका कर्मचारी असुरक्षित
टुडेपाटी
जनकपुरधाम, असोज ९ गते ।
संघीय सरकारले कर्मचारी नपठाएको भन्दै पटक पटक आक्रोश पोख्दै आएको प्रदेश २ सरकारले प्रदेशमा आएको कर्मचारीलाई हाजिर हुन रोकेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयमा सरुवा भइ हाजिर हुन गएकी सचिव सम्झना काफ्लेमाथि मन्त्रीका कार्र्यकर्ताले दुर्व्यवहार गरेका छन् ।
संघीय कृषि मन्त्रालयबाट प्रदेश २ को कृषि मन्त्रालयमा सरुवा भएकी उनलाई मन्त्री शैलेन्द्र साहले हाजिर हुँदा अवारेध खडा गरेका हुन् ।
सचिव काफ्ले बुधबार हाजिर हुनका लागि मन्त्रालयमा गएकी थिइन् । तर मन्त्रीका स्वकीय सचिव नवनित झाले बाहिरका मान्छेहरु लगेर होहल्ला गर्नुको साथै सचिवको कार्यकक्षमा तल्चा लगाइ हाजिर हुनबाट रोकेका छन् ।
कर्मचारीहरुले सचिव काफ्लेलाई स्वागत गरिरहेको ठाउँमै पुगेर उनीहरुले होहल्ला गर्नुको साथै कर्मचारीहरुलाई दुर्व्यवहारसमेत गरेका थिए । काफ्ले मन्त्रालयमा प्रवेश गर्ने बित्तिकै उक्त समूहले सचिवको कार्यकक्षमा ताल्चा लगाएर दुर्व्यवहार गर्नुका साथै हाजिर हुन नदिएको कर्मचारीहरु बताउँछन् ।
सचिव काफ्लेसँगै मन्त्रालयका अन्य कर्मचारीलाई समेत झाले बोलाएका बाहिरका मान्छेहरुले धाक धम्की दिएका छन् । ‘केही व्यक्ति मन्त्रालय बाहिरै घुमिरहेका थिए भने केही व्यक्ति भित्र पसेर होहल्ला गर्न थाले । होहल्ला किन गरेको बाहिर जाउ भनेपछि उनीहरु हातपात गर्ने मनसायले कर्मचारीलाई धकेल्न थाले । त्यसैक्रममा एकजनालाई चोट पनि लागेको छ । पछि तिमीहरु बाहिर आउ देखाइदिन्छु भनेर धम्की दिँदै निस्के,’ ती कर्मचारीले भने ।
Sponsored
उनीहरुको धम्कीपछि असुरक्षित महसुस गरिरहेका कर्मचारीहरु त्रसित भएका छन् । ती युवाहरुले गरेको दुरव्यवहार रेकर्ड नहोस् भनेर बुधबार सीसीटीभीसमेत बन्द गरेर राखिएको मन्त्रालयका एक कर्मचारीले बताए ।
स्रोतका अनुसार बुधबार सचिव काफ्ले हाजिर हुन आउने थाहा पाएपछि मन्त्री साहले मन्त्रालयका कर्मचारीहरुलाई बिहानै आफ्नो निवासमा बोलाएर सचिवलाई हाजिर हुन नदिन निर्देशन दिएका थिए ।
पटक पटक सचिव फेरिनाले काम कारवाहीमा समस्या भएको भन्दै मन्त्री साहले नयाँ सचिवलाई मन्त्रालयमा हाजिर हुन नदिनु भनि निर्देशन दिए पनि कर्मचारीले मन्त्री साहको निर्देशन मानेका थिएनन् । कर्मचारीले निर्देशन नमानेपछि मन्त्री साहले बाहिरका मान्छे बोलाएर सचिवलाई हाजिर हुनबाट रोकेको कर्मचारीहरुको आरोप छ ।
स्रोतका अनुसार सचिवलाई हाजिर हुनबाट रोक्नुको मुख्य कारण भनेकै मन्त्री साहले आफ्ना नजिकका कर्मचारी शंकर साहलाई निमित्त सचिवमा राख्न खोज्नु हो । कृषि कार्यालय धनुषामा कार्यरत शंकर साहलाई मन्त्री साहले कृषि मन्त्रालयको खाद्य सुरक्षा महाशाखाको जिम्मेवारी पनि दिएका छन् ।
निमित्त सचिव विजय महतोलाई हटाएर उनले शंकरलाई निमित्त सचिव बनाउन पहिलादेखि नै प्रयास गरिरहेका भए पनि सफलता पाएका थिएनन् । त्यतिकैमा संघीय सरकारले सचिवको जिम्मेवारीसहित काफ्लेलाई सरुवा गरेर पठाएपछि मन्त्री झन् क्रुद्ध भएर उनलाई हाजिर हुनबाट रोकेको बताइन्छ ।
सचिव काफ्लेले भनिन्, ‘म सरुवा भएर कृषि मन्त्रालयमा हाजिर हुन गएको थिएँ, त्यहाँका कर्मचारीहरुले स्वागत कार्यक्रम राखेका थिए । त्यसमा सहभागी भएपछि आफ्नो कार्यकक्षमा जाँदा ताल्चा लागेको थियो, हाजिरी रजिस्टर खोज्दा त्यो पनि पाइएन, अनि मलाई असहज भयो र त्यहाँबाट निवास फर्केँ ।’
यस विषयमा मन्त्री साहसँग बुझ्न खोज्दा बिहीवारदेखि नै उनको मोबाइल स्वीच अफ रहेको पाइएको छ । राज्यमन्त्री योगेन्द्र राय यादवले भने यस विषयमा मन्त्री साहहले नै बताउने भन्दै जवाफ दिनबाट पन्छिए ।
यस विषयमा मुख्यमन्त्री लालबाबु राउत र कृषिमन्त्री साहबीच पनि भनाभन भएको स्रोतको दावी छ । मन्त्री साहले सचिवलाई आफूले हाजिर नगराउने र निमित्तबाटै काम गराउने अडान मुख्यमन्त्रीसामु रहेको बताइन्छ । मुख्यमन्त्री राउतले भने सरुवा भएर आएका सचिवलाई हाजिर हुन दिनुपर्ने तर्क गरेपछि मुख्यमन्त्री र मन्त्रीबीच केहीबेर भनाभनसमेत भएको स्रोतले जनाएको छ ।
मुख्यमन्त्री राउतसँग भनाभन भएपछि मन्त्री साहले आफ्नो फेसबुकमा ‘म कसैको आदेशपालक होइन’ र ‘म जनादेशको पालना गर्छु, होइन भने जिम्मेवारी छोड्छु’ भनेर स्टाटस लेखेका छन् ।