प्रदेश २ सहित देशका अधिकांश ठाउँमा भारी वर्षा हुँदै, भोलीबाट मौसममा सुधार हुने
टुडेपाटी–
जनकपुरधाम, असोज ९ गते ।
प्रदेश २ सहित देशभर बुधवारदेखि सुरु भएको वर्षा अझै जारी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार आजदिनभर वर्षा जारी रहनेछ भने शनिबारबाट भने मौसममा क्रमिक सुधार हुँदै जानेछ ।
मौसमविद प्रतिभा मानन्धरले भनिन्, ‘आज ्देशभरि नै वर्षा हुन्छ । एकछिन रोकिने र फेरि पानी पर्ने क्रम चलिरहन्छ । केही स्थानमा अति भारी वर्षाको सम्भावना पनि छ ।’
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । प्रदेश नं १, प्रदेश नं. २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं. ५ र कर्णाली प्रदेशका १–२ स्थानहरुमा अति भारी वर्षा भैरहेको छ ।
काठमाडौंमा ६०।५ मिलमिटर वर्षा रेकर्ड भएको मौसमविद मानन्धरले जानकारी दिइन् । अन्य स्थानको अध्यावधिक विवरण भने आउन बाँकी रहेको मौसमविद मानन्धरले बताइन् ।
Sponsored
नेपालमा मनसुनको बहिर्गमनको औसत मिति सेप्टेम्बर २३ रहे पनि यस वर्षको मनसुन अहिलेसम्म सक्रिय रहेको छ । त्यसैले नेपालबाट मनसुन बाहिरिन अझै केही दिन लाग्ने मौसम विज्ञान विभागले जनाएको छ ।