महोत्तरीका सुदखोर विजयको अर्को कालो धन्दा : जमानत बसेकालाई नै गराइदिए उठिबास
शैलेन्द्र क्रान्ति–
जनकपुरधाम, असोज ८ गते ।
महोत्तरीको औहरी नगरपालिका १ औरही बजारका नामुद मिटरब्याजी विजय चौधरीको अर्को कालोधन्दाको खुलासा भएको छ । चर्को ब्याजदरमा ऋण लगाएर गाउँका झण्डै आधादर्जन गरिबलाई प्रताडित गरेका सुदखोर विजय एकजना साक्षीसंग नै तामसुक बनाएर उठिबास गराएको खुलासा भएको हो ।
प्रतिबजार हजारको चर्को ब्याजदरमा ऋणको धन्दा गर्ने बिजय ऋण दिएको जमानत बसेकी औरही बजारकी ५३ वर्षीया तारामण्डल खत्वेलाई श्रीसम्पती बेच्न बाध्य बनाई घरपरिवारलाई नै विस्थापित गराएका हुन् ।
ताराले २०७४ को पुस र माघ महिनामा नातामा भाईबुहारी पर्ने स्थानीय ३० वर्षीया ममता मण्डललाई ७० हजार रुपैयाँ घरखर्चको सुदखोर विजयबाट प्रतिबजार हजारको ब्याजदरमा ऋण दिलाएकी थिइन् । दुईमहिना भित्र ऋणी ममताले ब्याजसहित ऋण फिर्ता नगरेको भन्दै सुदखोर विजयले व्याजसको स्याज जोडेर २०७४ फागुन ५ गते १ लाख ७३ हजार २ सयसाँवा पुर्याए । सोहि दिन तारा र ममतालाई बोलाएर सुदखोर बिजयले तारसंग १ लाख ७३ हजार २ सय पुर्याएको साँवाका चारगुना बढी अर्थात ६ लाख ९२ हजार ८ सयको तमसुक गारए । र तारालाई साहु खडा गरी ममतासंग तमसुक गराइदिएका थिए ।
एकवर्ष अघि २०७३ मा १ को मितिमा ताराले आफुसंग त ६ लाख ९२ हजार ८ सय रुपैयाँ सेकडा १० प्रतिशत ब्याजदरमा ऋण लिएको तमसुकमा उल्लेख गराएका थिए । तारालाई ममतासंग त्यसको भोलि पल्ट माघ २ गते त्यति नै रकम १० प्रतिशत ब्याजदरमा दिएको ब्यहोरा तमसुकमा उल्लेख गराएका थिए ।
Sponsored
तर दुबै तमसुकको तलको भागमा भने १ लाख ७३ हजार २ सय रुपैयाँ ऋण प्रतिबजार ३ हजार ५ सयको दरले ५ फागुन २०७४ मा लिएको ब्यहोरा उल्लेख छ । अर्थात प्रत्येक साताको दुईदिन मंगल र शुक्रबार लाग्ने बजार अनुसार ५० हजार रुपैयाँको एकबजारको ब्याज १ हजार हुन्छ । जुन १७२ प्रतिशत ब्याजदर हो ।
ममताले ऋण लिएको तीनमहिना भित्रै उनका पति रामचन्द्र मण्डलले मलेसियाबाट रकम पठाएर ७० हजारको प्रतिबजार हजारको ब्याजसहित जोडेर सुदखोर बिजयलाई १ लाख ३० हजार बुझाई चुक्ता गरेका थिए । तर विजयले भने ताराको कागज फिर्ता गरेनन् ।
ऋण लिएकी ममतताले विजयबाट आफुले ऋण लिएको र विजयले ताराबाट र ताराले आफुबाट कागज बनाएको बताइन् । पतिले विदेशबाट पैसा पठाएपछि १ लाख ३० हजार चुक्ता गरिदिएपनि तारासंग बनाएको तमसुक फिर्ता नगरेको र उनलाई बर्बाद गरिदिएको ममताको भनाइ छ ।
सोहि तमसुकको तल्लो भागमा उल्लेख भएको ब्यहोरा च्यातेर सुदखोर विजयले ताराले मिति २०७३ माघ १ गते दिन लिएको ६ लाख ९२ हजार ८ सयको १ वर्ष ७ महिना १९ दिनको १० प्रतिशत व्याजदरले १ लाख ३ हजार ३ सय गरी साँवा र व्याज ८ लाख ६ हजार १ सय रुपैयाँ अशुल गरी पाउँ भनि २६ भदौ २०७५ मा जिल्ला अदालत महोत्तरीमा मुद्दा गरेका थिए ।
मुद्दालाई गाउँमै मिलाउन भनेपछि ताराले डेढवर्षको अवधिमा ८ कठ्ठा खेत, ५ धुर घडेरी र एउटा ट्याक्टर बेचेर १३ लाख रुपैयाँ तिर्न विवश भएकी छन् । औरही बजारको दशधुर घडेरीमा चारछोराबुहारी र नातिनातिनासंगै औरही बस्दै आएकी ताराको घरमा सोही ऋणको कारण गएको चैत महिनामा ठूलो पारिवारिक विवाद तथा कुटपिट भएको थियो । जसमा तारा समेत गम्भीर घाइते भएकी थिइन् भने तारालाई बचाउने पक्षमा उभिएका उनका पति रामपृत र कान्छो छोरा पनि घाइते भएका थिए । विवादकै कारण विस्थापित भएर तारा, पाति रामपृत र कान्छो छोरा श्यामको परिवार विस्थापित भएर अहिले औरही बजार भन्दा पाँचसय मिटर पूर्व अरुको जग्गामा घर बनाएर चारमहिनादेखि बस्दै आएका छन् ।
ताराले जीवनमा कल्पना नै नगरेको संकट मिटरब्याजी बिजयले आफ्नो परिवाबारमाथि पारिदिएको दुखेसो गरिन् ।
‘कसैलाईं ऋण दिलाएर जमानत बस्नुको यति ठूलो मूल्य चुकाउनु पर्छ भन्ने मैले कल्पना गरेकी थिइन । नलिएको ऋणको समेत घरघडेरी बेचेर बिजयलाई १३ लाख तिर्नुपर्यो । मेरो परिवार बर्बाद भयो’ ताराले तमसुकको प्रतिलिपी देखाउँदै भनिन्् ‘यहि तम्सुक हो विजयले मसंग बनाएको । जसको ऋण ब्याजसहित लिएको ऋणी ममताले चुक्ता गरिसकेकी छिन् । तर मलाई घरघडेरी बेचेर १३ लाख तिराए ।’
तारासंग फर्जी तमसुकबाटै ऋण चुक्ता गराउन समाजले मिटरब्याजी बिजयलाई नै होस्टेमा हैँसे गरे । लिएको ऋण तिर्नै पर्छ भन्ने पक्षमा वडा नं. १ का वडाध्यक्ष राजकिशोर चौधरी, स्थानीइ प्रहरी, भरभलादमी सबै उभे । आफुहरु गरिब दलित एवं कमजोर वर्ग हुनुकै काण यस्तो भोग्नु परेक पीडित ताराको गुनासो छ ।
विजयलाई ब्याजसको स्याज गरेर तिर्नु परेको फर्जी ऋणको कारण तारालाई अझै साहुमहाजनसंग लिएको ६ लाख ऋण तिर्न बाँकी रहेको छोरा श्यामले बताए । विस्थपित भएपछि के खाने, के लागनउे समेत समस्या ताराको परिवारमा छ ।
चर्को ब्याजमा ऋण लगाएर फिल्मी शैलीमा विस्थापित गर्छन् गरिबलाई
सुदखोर विजयबाट प्रताडित हुने जमानत बस्ने तारा एकल पात्र हुन् । तर तारा भन्दा अघि चर्को ब्याजमा ऋण दिएर विजयले कुटपिट, यातना, धाकधम्की र सम्पति कब्जा गरी गाउँका झण्डै आधादर्जन परिवारको उठिबास नै गराइदिएका छन् ।
उनको शोषण दमनबाट गाउँका नथुनी साह, मदन चौधरी, लक्ष्मण झा, राजु राउत घर छाडेर भागिसकेका छन् । विस्थापित हुने मदन चौधरीको केहि समय पश्चात मृत्यु भएको थियो । स्थानीयका अनुसार लिएको ऋण समयमा फिर्ता नगर्दा विजयले उनलाई शौचालयमा थुनेर कुट्ने गरेका थिए । झण्डै एक महिना अघि स्थानीय ऋणी गुदरी मण्डलको घरमा पसेर ऋण फिर्ता गर भन्दै कुटपिट गरेका थिए । कुटपिटबाट पासेदेवी गम्भीर घाइते भएकी थिइन् । उनले कुटपिट घटना विषयमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा उजुरी दिँदा विजयले गाउँमै गुदरीसंग भैँसी लिएर घटना मिलाएका थिए ।
१७२ प्रतिशतभन्दा बढी ब्याजदरमा ऋण लगाउने, ऋणको दशगुनासम्मको तमसुक बनाउने, ऋण चुक्ता गर्दा तमसुक फिर्ता नदिने, समयमा व्यजासहित ऋण चुक्ता नगर्नेलाई घरमा पसेर कुटपिट गर्ने, शौचालयमा थुनेर यातना दिने, श्रीमती उठाइदिने धम्की दिने जस्तो गतिविधि विजयले गर्दै आएको स्थानीयको भनाइ छ ।
विजय यस्तो धन्दा विगत पाँच वर्षदेखि प्रतिबाजार हजार ब्याजदरको ऋण धन्दा चलाएका छन् । उनको यस कार्यमा स्थानीय रामबाबु चौधरी, शुरेश साह, सन्तोष साह, धिरेन्द्र साह, रामपुकार साह, रविन चौधरी, लेखनदास समेत रहेको स्थानीय सामुदायिक विद्यालयका शिक्षक जयशिव यादव लगायतको टिम सक्रिय रहेको एक स्थानीयले बताए ।
रामबाबु चौधरी गएको २०७४ को निर्वाचनमा महोत्तरी क्षेत्र नं. ४ क बाट प्रदेश सांसदमा चुनाव लडेका थिए । लिएको ऋण कसैले समयमा तिर्न नसके विजय चौधरीको यो समुहले धाकधम्की दिने, परपञ्चायत गर्ने, गवाही दिने, थाना तथा प्रहरी प्रशासन धाउने, अदालत जाने जस्ता काम गरिरहेको स्थानीयको भनाइ छ ।
भिडियोमा हेर्नुहोस