२९ महिनापछि पेरिसडाँडामा नेकपा नेताको जमघट, छिट्टै मन्त्रीमण्डल पुर्णगठन हुने
टुडेपाटी
काठमाडौँ, असोज ४ गते ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा मन्त्रिमण्डल पुनर्गठनको एजेण्डाले प्रवेश पाएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतवार झण्डै ४ घण्टा बसेको सचिवालय बैठकमा निश्चित मापदण्ड अपनाएर छिट्टै मन्त्रिमण्डल पुनर्गठन गरिने निर्णय भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
‘मन्त्रिपरिषद् पुनर्गठन स्थायी कमिटीको निर्णयानुसार गर्ने तय भएको छ । पुनर्गठनका सन्दर्भमा सचिवालयले विभिन्न नीतिगत रूपमा सुझाव दिएको छ, त्यसबारेमा व्यक्तिको नाममा प्रवेश गरेका छैनौं । आवश्यक परे त्यसबारे पनि छलफल गछौं,’ सचिवालय बैठकपछि सञ्चारकर्मीहरूसँग बोल्दै प्रवक्ता श्रेष्ठले भने ।
एक सचिवालय सदस्यका अनुसार बैठकमा पार्टी उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाएपछि आमजनतामा राम्रो सन्देश नगएको, अनावश्यक विवाद सिर्जना भएको कुरा उठेको थियो।
Sponsored
‘अब मन्त्री बनाउने विषयबारे पनि धेरै सोच्नपर्ने छ,’ बैठकमा भएको छलफलबारे उनले भने।
त्यो कुरा बैठकमा कसले उठाएको भन्ने बारेमा भने ती नेताले खुलाउन चाहेनन्।
पार्टीको सिफारिसका आधारमा भदौ २९ गते सरकारले वामदेव गौतमलाई राष्ट्रियसभा सदस्य बनाउन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको थियो। सोहिअनुसार राष्ट्रपतिबाट गौतम उपल्लो सदनको सदस्य नियुक्त भइसकेका छन्।
४ घन्टाको बैठक
जनवर्गीय संगठनको कार्यालय रहेको पेरिसडाँडामा पहिलोपटक बसेको पार्टी सचिवलय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी मात्र भएनन् पुरै समय बसेका थिए।
तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेकपा गठन भएपछि प्रधानमन्त्री ओली त्यहाँ पुगेको यो दोस्रोपटक हो।
यसअघि बालुवाटारमै हुने बैठकमा पनि पुरै समय विरलै बस्ने गरेका प्रधानमन्त्री ओली पेरिसडाँडामा आयोजित पहिलो बैठकमा भने अन्तिमसम्म बसेका थिए।
स्रोतका अनुसार बैठकस्थल प्रवेश गर्नेबित्तिकै त्यहाँको व्यवस्थापन देखेर प्रधानमन्त्रीले ‘बैठक कक्ष गजब बनेछ,’ भनी टिप्पणी गरेका थिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरेको सचिवालय बैठक पहिलोपटक पेरिसडाँडामा बसेको हो।
बैठक पार्टी कार्यालयको सबैभन्दा माथिल्लो तलामा राखिएको थियो भने कार्यालय र वरपर सुरक्षा व्यवस्था कडा बनाइएको थियो।
मुख्य गेटबाट सचिवालयका सदस्य, उनीहरुका स्वकीय सचिवहरुबाहेक अरुलाई प्रवेश निषेध गरिएको थियो। दोस्रो तलादेखी बैठकस्थलमा सचिवालय सदस्यबाहेकलाइ जान रोकिएको थियो।
२९ महिनापछि पेरिसडाँडामा नेताहरूको जमघट
पेरिसडाँडामा नेताहरूको जमघट भने २९ महिनापछि भएको हो। २०७५ जेठ ३ गते पार्टी एकता गरेपछि सो कार्यालयमा यसरी शीर्ष तहका नेताहरूको बैठक भएको थिएन।
पार्टीका जनवर्गीय संगठनहरुको बैठकमा केही नेता पुगेको भए पनि प्रधानमन्त्री तथा अध्यक्ष ओली, अर्का अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य ईश्वर पोखरेल र रामबहादुर थापासहितको यस्तो बैठक सो कार्यालयमा पहिलोपटक भएको हो।