प्रदेश २ : कालो दिवसमा आसन ग्रहणको विषयलाई लिएर जसपा कार्यकर्ताबिच झडप
टुडेपाटी-
सप्तरी, असोज ३ गते ।
आसन नग्रहणको विषयलाई लिएर सप्तरीको राजविराजमा जनता समाजवादीका कार्यकर्ताबिच झडप भएको छ । संविधान दिवसको विरोधमा जसपाले शनिबार राजविराजमा गरेको कार्यक्रममा आसन ग्रहणको विषयलाई लिएर आपसमै झडप भएको हो ।
‘असोज ३, कालो दिन, संविधान संशोधन गर’ लगायतको नारासहित राजविराजको शिव मन्दिरबाट जुलुस नेता चोकमा पुगेपछि कोणसभामा परिणत भएको थियो । त्यहाँ तात्कालीन समाजवादी पार्टीका चितरन्जन यादवले कार्यक्रमको सञ्चालन गर्दे तात्कालीन राजपाका जिल्ला अध्यक्ष हरेराम यादवलाई अध्यक्षता तथा पार्टीका केन्द्रीय सदस्य अनिरुद्रप्रसाद सिंह यादवलाई प्रमुख अतिथी ,प्रदेश सासंद अभिषेक यादब र नेत्रविक्रम साह तथा तात्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादवलाई मात्र आसन ग्रहण गराएका थिए ।
पहिलो वक्ताका रुपमा विद्यार्थी नेता शम्भु यादवले मन्तब्य सुरु गर्ने बितिकै केही नेता कार्यकर्ताहरु मञ्च अगाडी विरोध गर्न थालेपछि विवाद भएको थियो । त्यस क्रममै कार्यक्रम सञ्चालक यादवलाई केही नेता कार्यकर्ताहरुले मञ्चबाट धकेलेर निकालेका थिए । असन्तुष्टहरुले पार्टीका अन्य केन्द्रीय सदस्यहरु,निर्वाचित जनप्रतिनिधीहरु तथा वरिष्ठ नेताहरुलाई आसन ग्रहण नगराएको भन्दै विरोधमा उत्रिएपछि झडप भएको हो ।
झण्डै १५ मिनेटसमम्म नेता कार्यकर्ताबिच आसन ग्रहणकै विषयमा विवाद र घम्साघम्सी भएपछि अध्यक्षता गरेका हरेराम यादवले कार्यक्रम समापनको घोषणा गरेका थिए ।
Sponsored