मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले दिए राजीनामा
एजेन्सी-
क्वालालाम्पुर, फागुन १२ गते ।
मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले पदबाट राजीनामा दिएका छन् । महाथिरले सोमबार पदबाट राजीनामा दिएको अन्तर्रा्ष्ट्रिय समाचार माध्यमले जनाएका छन् । महाथिरले आफ्नो राजीनामाबारे त्यहाँका राजालाई जानकारी गराएका छन् ।
नयाँ सरकार गठनको ढोका खोल्न भन्दै महाथिरले राजीनामा दिएका बताइएको छ । योसँगै महाथिरको सत्तारुढ दल वर्तमान गठबन्धनबाट बाहिरिएको छ । यसै सातादेखिको राजनीतिक खिचातानी र शक्ति संघर्षपछि महाथिरले राजीनामा दिएका हुन् ।
आइतबार राति उनको पार्टीले अनवर इब्राहिमबिना नै नयाँ सरकार गठन गर्ने समाचार आएको थियो । उक्त समाचारपछि दुवै नेताबीच मतभेद चुलिएको थियो । महाथिर र अनवरबीच लामो समयदेखि शक्ति संघर्ष चलिरहेको छ । सन् २०१८ को निर्वाचनमा दुवै नेता मिलेका थिए । निर्वाचनमा बहुमत ल्याएपछि तत्कालीन प्रधानमन्त्री नजिव रजाक सत्ताच्युत भएका थिए । तर महाथिर र अनवरको सहकार्यमा पछिल्लो समय तनाव देखिएको थियो ।
उनले समय तालिका बनाएर अनवरलाई शक्ति हस्तान्तरण गर्ने भनेपछि दुवैबीच तनाव देखिएको थियो । तर महाथिरको प्रस्तावपछि पकटन हरपन गठबन्धनका नेता अनवर रुष्ट थिए ।