नेकपा नेताले आफ्नै पार्टीका नेताको आलोचना गर्न नपाउने, गुटको बैठक बस्न पनि निषेध
टुडेपाटी
काठमाडौँ, भदौ ३० गते ।
नेपाल कमयुनिष्ट पार्टी (नेकपा) ले कठोर सर्कुलर जारी गरेको छ । भदौ २६ गते सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्षद्वयबाट प्रस्तुत प्रस्तावका सम्बन्धमा छलफलपछि बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गरेको र सोहीअनुसार तल्लो तहमा सर्कुलर गरिएको हो ।
सर्कुलरमा अन्तरविरोध उत्कर्षमा पुगेर स्थायी कमिटीको बैठकसमेत अवरुद्ध हुन गएको भएपनि अब विगतका कमी कमजोरीहरूबाट शिक्षा लिने, पार्टी भित्रका, विशेषतः नेतृत्व तहका असमझदारी, अविश्वास र अन्तरविरोध समाधान गर्ने, परस्परमा विश्वास कायम गर्ने र पार्टी एकताको रक्षा एवम् विकास गर्ने संकल्प गरिएको छ ।
यसैगरी सबै नेता, कार्यकर्ता तथा सदस्यहरूलाई आ–आफ्ना गल्ती, कमजोरीहरूप्रति आत्मसमीक्षक र आत्मालोचित हुँदै भविष्यमा त्यसप्रकारका गल्ती, कमजोरीहरू दोहोरिन नदिन निर्देशित गरिएको छ भने अतितमुखी नभइ भविष्यमुखी भएर, वर्तमानका चुनौतीलाई सामना गर्ने सही निष्कर्ष र सार्थक योजनाका साथ अघि बढेर जनताले सुम्पिएको अभिभारा पूरा गर्दै मुलुकको उज्ज्वल भविष्य सुनिश्चित गर्ने संकल्प पनि गरिएको छ ।
आन्तरिक विवादलाई कटूतापूर्ण र यदाकदा शत्रूतापूर्ण तहमा भड्काउन खोज्ने, पार्टी अनुशासनलाई गुट अनुशासनले र पार्टीलाई गुटले विस्थापित गर्न खोज्ने, गुट–गुटका अलग–अलग बैठक बस्ने, निर्णय गर्ने र सार्वजनिक रूपमा आरोप–प्रत्यारोपमा उत्रिने जस्ता गलत अभ्यासहरूलाई कडाइका साथ नियन्त्रण गर्ने र पार्टीलाई अनुशासित र पार्टीभित्रको बहस–विवादलाई विधिसम्मत तथा मर्यादित तुल्याउने प्रण पनि नेतृत्वले नेता कार्यकर्ता सामु गरेको छ ।
Sponsored