जानकी मेडिकल कलेजका कर्मचारी आन्दोलनमा, स्वास्थ्य सेवा बाहेक सबै बन्द
टुडेपाटी-
जनकपुरधाम, भदौ २९ गते ।
विगतका सम्झौतहरु कार्यान्वयन नगरेकोभ भन्दै धनुषाको जानकी मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी आन्दोलनमा उत्रेका छन् । पटक पटक भएको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग राख्दै कर्मचारीहरुले भदौ २६ गतेदेखि स्वस्थ्य बाहेक सबै सेवा बन्द गरेका छन् ।
कलेजका प्रशासनिक, शैक्षिक तथा लेखा शाखाको कामकाज ठप्प गरी चिकित्सक, स्वास्थ्यकर्मी लगायत कर्मचारीहरु आन्दोलनमा उत्रेका हुन् ।
पटक पटक अस्पताल व्यवस्थापन पक्षले गरेको सम्झौता कार्यान्वयन नगरेपछि बाध्य भएर अन्दोलनमा उत्रिनु परेको कर्मचारी हकहित संरक्षण संघर्ष समितिका संयोजक उमेश यादवले टुडेपाटीलाई बताए ।
दुईवर्षमा अस्पतालले चारपटक सम्झौता तथा प्रतिवद्धता गरेपनि कार्यान्वयन नगर्दा संचयकोष लगायतको विभिन्न भत्ताको हरहिँसाब ओझेलमा परेको तथा नियमति तलब नपाएर कर्मचारीहरु दयनीय अवस्थामा पुगेको संघर्ष समितिका संयोजक यादवको भनाइ छ ।
अस्पताल व्यवस्थापनले सम्झौता कार्यान्वयन नगर्दा कर्मचारीहरु निकै समस्यमा पुगेको संघर्ष सममितिका सह संयोजक कुल्दीप साहले बताए ।
Sponsored
‘कोरोना महामारी जस्तो जोखिममा पनि कर्मचारीहरु ज्यानको परवाह नगरी काम गर्दै आएका छन् । पाँच महिनादेखि तलब दिएको छैन । घर भाडा समेत कर्मचारीहरु तिर्न सकेका छैनन् । हाम्रो पनि बालबच्चा र घरपरिवार छ । कर्मचारी कसरी बाँच्ने ?’ प्रश्न गर्दै साहले भने ।
आन्दोलनका विषयमा जानकारी गराउँदा प्रहरी प्रशासनले उल्टै ताला फुटाइदिने धम्की दिने गरेको संघर्ष समितिका संयोजक यादवले दुखेसो पोखे । ‘अस्पताल प्रशासनले पटक पटक ठग्दै अयो । अब समयमै विगतको सम्झौता कार्यान्वयन र हाम्रो दुःख नबुझे स्वास्थ्य सेवा समेत बन्द गरेर कडा संघर्षमा जान बाध्य हुन्छौं । संयोजक यादवले चेतावनी दिँदै भने ।
यस विषयमा अस्पताल सञ्चालक समितिका अध्यक्ष ओम प्रसाद पाण्डेले कोरोनाको कारण बेलैमा कर्मचारीलाई तलब दिन नसकेको टुडेपाटीलाई बताए । पठनपाठन सुचारु भए लगतै विद्यार्थीबाट शुल्क अशुलेर कर्मचारीहरुलाई बिगतका हरहिँसाब सहित नियमित तलब भुक्तानी गर्ने अध्यक्ष पाण्डेको भनाइ छ ।