TodayPati

कोरोना संक्रमणबाट महोत्तरीका पुरुष सहित थप चार जनाको मृत्यु, मृतक को कहाँका हुन् ?

टुडेपाटी

जनकपुधाम, भदौ २९ गते ।

कोरोना संक्रमणबाट नेपालमा थप चार जनाको मृत्यु भएको छ । संक्रमणबाट महोत्तरी, मोरंग र कपिलवस्तुका चारजनाको मृत्यु भएको हो ।

Sponsored

महोत्तरीको लोहारपट्टी नगरपालिका–३ बस्ने एक ६० वर्षीय पुरुषको कोभिड–१९ बाट मृत्यु भएको छ ।

कोरोना लागेर ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि भदौ २२ गते प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको उनको आइतबार मृत्यु भएको प्रदेश नं २ का स्वास्थ्य निर्देशनालयका निर्देशक डा विजय झाले बताए ।

भदौ २२ गते अस्पताल भर्ना भएकै दिन उनको स्वाब सङ्कलन गरी प्रयोगशाला पठाइएकोमा भदौ २४ गते उनी कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको थियो । उनी उच्च रक्तचापका बिरामीसमेत रहेको बुझिएको छ ।

Sponsored

उनको मृत्युसँगै अब महोत्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको जिल्लाका कोरोना फोकल पर्सन गिरेन्द्रकुमार झाले बताए ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचारका क्रममा मोरङका दुई सङ्क्रमितको मृत्यु भएको छ । तीमध्ये कुनै दीर्घ रोग नभएका एक ४० वर्षीय युवकको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

मोरङको धनपालथान–६ का ती युवकको आइतबार राति ८ः४५ मा निधन भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए । उनलाई प्रतिष्ठानको अर्थो अब्जरभेसन वार्डमा उपचारको क्रममा रहँदा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

शुक्रबार प्रतिष्ठानको ल्याबबाट सङ्क्रमण पुष्टि भएपछि उनलाई शनिबार राति साढे १० बजे कोभिड अस्पतालमा सारिएको थियो । यसअघि आइतबार दिउँसो विराटनगर–१२ का ७० वर्षीय पुरुषको पनि प्रतिष्ठानकै कोभिड अस्पतालमा मृत्यु भएको थियो ।

उनलाई विराटनगरस्थित म्याक्स अस्पतालले प्रतिष्ठानमा रिफर गरेको थियो । उनलाई भदौ १६ गते कोराना पुष्टि भएको थियो । उनलाई पहिलादेखि नै उच्च रक्तचापको समस्या भएको बताइएको छ । योसँगै प्रतिष्ठानमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या २६ पुगेको छ । त्यसैगरी कपिलवस्तुको शिवराज नगरपालिका–५ की ४७ वर्षीया महिलाको उपचारको क्रममा सोमबार आज बिहान मृत्यु भएको हो ।

भदौ २१ गते कोरोना पुष्टि भएपछि अस्पताल भर्ना भएकी उनको आईसीयूमा उपचार भइरहेकोमा सोमबार बिहान साढे ४ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा। विष्णु गौतमले पुष्टि गरे । उनी मिर्गौला रोगबाट पीडित र डायलासिस गराइरहेको विरामी रहेको डा। गौतमले बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *