प्रदेश २ मा ५० प्रतिशत कोरोना संक्रमित निको
टुडेपाटी-
जनकपुरधाम, भदौ २८ गते ।
प्रदेश २ मा कुल कोरोना संक्रमिमध्ये आधाले कोरोना जितेर घर फर्किएका छन् । हालसम्म प्रदेश २ मा करिब १२ हजार कोरोना संक्रमितमध्ये ६ हजारभन्दा बढी संक्रमितले कोरोना जितेका हुनर ।
प्रदेश स्वास्थ्य निर्देशनालयले दिएको जानकारी अनुसार पछिल्लो पाँच महिनाको अवधिमा संक्रमित भएकामध्ये ६ हजार ३ सय ११ जनाले कोरोना जितेका छन् ।
देशमा महामारी फैलिएयता ११ हजार ८ सय ४५ संक्रमितमध्ये ६ हजार ३ सय ११ जना निको भएर घर फर्किइसकेका छन् । अहिले ५ हजार ४ सय २६ जना सक्रिय संक्रमितको अस्पतालको आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए ।
सबैभन्दा बढी पर्सामा १ हजार ४ सय ७५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । यसैगरी सप्तरीमा ७ सय ६, सिरहामा ३ सय ७७, धनुषामा ९ सय ५४, महोत्तरीमा ४ सय ७६, सर्लाहीमा ७ सय ५५, रौतहटमा ८ सय ७६ र बारामा ६ सय ८६ जना संक्रमित निको भएर घर फर्किइएको निर्देशनालयको तथ्यांकमा जनाइएको छ ।
यसैगरी ५ हजार ४ सय २६ सक्रिय संक्रमितमध्ये सप्तरीमा २ सय ८६, सिरहामा ३ सय ८, धनुषामा ८ सय ७२, महोत्तरीमा ९ सय १, सर्लाहीमा १ हजार ५६, रौतहटमा ८ सय ८१, बारामा २ सय ३५ र पर्सामा ८ सय ८७ जनाको आइसोलेसन र होम आइसोलेसनमा उपचार भइरहेको छ ।
Sponsored
प्रदेश २ मा हालसम्म १ सय ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सबैभन्दा बढी पर्सामा ३९ र सबैभन्दा कम सर्लाहीमा ४ जना कोरोना संक्रमितको मृत्यु भएको हो । सप्तरीमा ८, सिरहामा १०, धनुषामा १३, महोत्तरीमा १२, रौतहटमा ५ र बारामा १६ जना कोरोना संक्रमितको ज्यान गएको निर्देशनालयले जनाएको छ ।
पछिल्लो दुई दिनमा धनुषामा एकजनामा मात्र संक्रमण पुष्टि भएको छ । प्रादेशिक प्रयोगशालामा भएको परीक्षणमा पछिल्लो दुई दिनमा जम्मा एकजनामा संक्रमण पुष्टि भएको बताइएको छ ।
स्वाब परीक्षणको नतिजा अनुसार शुक्रबार धनुषा र महोत्तरीको कुनै व्यक्तिमा संक्रमण देखिएको थिएन् । शनिबार धनुषाको एक र महोत्तरीको सातजनामा संक्रमण पुष्टि भएको थियो ।