TodayPati

महोत्तरी : जनप्रतिनिधि र क्रसर माफियाबीच सेटिङ, पत्रकारलाई जिब्रो काट्ने धम्की

टुडेपाटी-
महोत्तरी, भदौ २६ गते ।

महोत्तरीको बर्दिबास नगरपालिका ६ किसाननगरमा क्रसर माफियाले नदी उत्खनन गर्न तटबन्ध भत्काएको समाचार लेख्ने पत्रकारलाई जनप्रतिनिधिले हात र जिब्रो काट्ने धम्की दिएका छन् ।
तीन दिन अगाडी पत्रकारद्वय ललन मण्डल र सुरेन्द्र सिंहले क्रसर माफियाको बदमासीबारे समाचार टुडेपाटी लगायतका संचार माध्यममा प्रकाशन गरेका थिए । सोही विषयलाई लिएर अहिले सामाजिक सञ्चालमा हिंसालाई बढावा दिने खालको टिप्काटिप्पणी भइरहेको छ । कारण हो- क्रसर माफियासँग जनप्रतिनिधिको साँठगाठ ।

सुमित बालुवा प्रशोधन उधोगले रातो नदीमा अवैध उत्खननका लागि बाटो बनाउन तटबन्ध भत्काएको समाचार बाहिर ल्याएपछि बर्दिबास नगरपालिका ७ का वडाध्यक्ष फाल्गुण सुसलिङ मगरले फेसबुकमा स्टाटस लेखे । उक्त स्टाटसमा बाबु चौलागाईको नामको व्यक्तिले पत्रकारको ‘हात र जिब्रो काट्ने’ भन्दै कमेन्ट वस्कमा टिप्पणी गरे ।

Sponsored

चैलागाइले गरेको टिप्पणीमा वडा अध्यक्ष मगरले ‘हजुर, त्यसको लागि त तयार छु जुध्न’ भन्ने रिप्लाई गरेका छन् । वडाध्यक्ष मगरको भाषा आपत्ति जनक छ । उनले पत्रकारलाई तानाशाही शैलीमा जे पनि गर्न सक्छन् भन्ने स्पष्ट भएको छ । वडाध्यक्षले प्रयोग गरेको भाषाप्रति पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासँघ, प्रेस सङ्गठन नेपाल, बर्दिबास नगर पत्रकार संजालले आपत्ति जनाएका छन् । महासँघका महोत्तरी अध्यक्ष कमलेश मण्डलले विज्ञप्ती जारी गरी भनेका छन्, ‘जनप्रतिनिधिले गरेको टिप्पणी हिंसालाई बढावा दिएको हाम्रो ठम्याई छ ।’

‘आफ्नो वडा-नगरमा अवैध उत्खनन् गर्ने कार्य नरोक्ने, विकास संरचनाको संरक्षणतर्फ उदाशिन देखिने तर यि विषय उठाउने पत्रकार विरद्ध हात काट्ने र जिब्रो थुत्नेसम्मका टिप्पणीमा समर्थन जनाउने जनप्रतिनिधको काम उदेक लाग्दो नै छ’, विज्ञप्तीमा भनिएको छ, ‘यसरी प्रेस स्वतन्त्रताको धज्जी उडाउने र पेशामाथि नै प्रहार हुने गरी भएको घटनाको घोर भत्र्सना गर्दछौं ।’

महासंघले दोषीमाथि छानविन गरी सम्मानजनक र सुरक्षित रुपमा पत्रकारलाई काममा लाग्ने वातावरणको सृजना गर्न जनप्रतिनिधिहरु, सुरक्षा निकाय र सरोकारबाला सबैसँग अपिल गरेको छ । साथै घटनाको सत्यतथ्य बुझ्न ५ सदस्य छानविन समिति समेत महासँघले गठन गरेको छ ।

Sponsored

हेमकुमारी बराल (सुनिता)को संयोजकत्वमा राजकरण महतो, विक्रम रौनियार, गोपाल बराल र अनिता खनाल सदस्य रहनेगरी छानविन समिति गठन गरिएको छ । समितिले ७ दिनभित्रै प्रतिवेदन पेश गरेपछि महासंघ महोत्तरीले थप निणर्य गर्ने जनाएको छ ।

यस्तै बर्दिबास नगर पत्रकार सञ्जालका अध्यक्ष विक्रम प्रसाद रौनियार र प्रेस संगठन नेपाल महोत्तरीका संयोजक राजकरण महतोले समेत संयुक्त रुपमा विज्ञप्ती जारी गरेर पत्रकारलाई जनप्रतिनिधिले प्रयोग गरेको धम्कीपूर्ण भाषाप्रति आपत्ति जनाएका छन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *