TodayPati

देशकै चर्को मिटरब्याजी : ऋणीलाई शौचालयमा थुनेर यातना, ४ परिवार विस्थापित

टुडेपाटी-
जनकपुरधाम, भदौ २६ गते ।

महोत्तरीका एक मिटरब्याजीले दश गुनासम्मको तमसुक बनाउने र समयमा ऋण फिर्ता नगरे यातना दिने गरेको रहस्य खुलेको छ । महोत्तरीको औरही नगरपालिका १ का सुदखोर विजय चौधरी कलबार अत्यन्तै चर्को ब्याजदरमा ऋण लगानी गरी गरिबलाई यातना दिएर विस्थापित बनाउने गरेको घटना सार्वजनिक भएको हो ।

समयमा ऋण फिर्ता नगरेको भन्दै गएको भदौ १४ गते औरही बजारकी ऋणी पासोदेवी मण्डल खत्वेलाई घरमै पसेर परिवारजनलाई कुटपिट गरेपछि सुदखोर चौधरीको यस्तो धन्दा बाहिर आएको छ ।

Sponsored

लकडाउनमा ऋण तिर्न नसक्दा विजय चौधरी परिवारसहित पासोदेवीको घरमा पसेर ऋण तिर्न भनेका थिए । त्यसपछि चौधरी परिवारले दुधालु भैँसी फुकालेर लग्न खोजेपछि अवरोध गर्दा पासोदेवी, उनका पति गुदरी मण्डल र बुहारी रामपरी देवीलाई कुटपिट गरेका थिए । निर्घात कुटपिटबाट घाइते भएकी पासोदेवी स्थानीय एक क्लिनिकमा उपचार गराएपछि निको भएको बताइन् । तर कुटपिटको कारण स्वास्थ्यमा अझै समस्या भएको उनको भनाइ छ ।

पीडित पासोदेवी मण्डलको परिवार

पासोदेवीले घरको खर्च तथा अतिआवश्यक कामको लागि चौधरीसंग प्रतिबजार हजारको दरले १ लाख ५० हजार रुपैयाँ ऋण लएका थिए । औरही बजार साताको दुईदिन मंगलबार र शुक्रबार लाग्ने गरेको छ । एकलाख ५० हजारको एकबजारको १५ सय रुपैयाँ ब्याजमा । तर सुदखोर चौधरीले कपाली तमसुक भने चारगुना बढी अर्थात ६ लाख रुपैयाँको बनाएका थिए ।

घरमै पसेर पासोदेवी मण्डल खत्वेमाथि गरेको कुटपिटको डाम

कुटपिटपछि पासोदेवीले जिल्ला प्रहरी कार्यालय महोत्तरीको महिला सेलमा उजुरी दर्ता गराएकी थिइन् । जिल्लामा छलफल गर्दा आफ्नो कालोधन्दाको पोल खुल्ने डरले मिटरब्याजी चौधरीले गएको भदौ २० गते गाउँमै छलफल गरी मिलाएका थिए । कारबाही प्रक्रियामा अघि नबढ्ने सर्तमा झण्डै १ लाखको दुधालु भैँसी लिएर सुदखोर चौधरीले घटना ढाकछोप गरी प्रहरीमा स्थानीय औरही प्रहरी चोकीमा मिलापत्र गरेका थिए ।

Sponsored

यस्तै औरही बजारकी ममतादेवी मण्डलले २०७४ को पुस र माघमा तीनपटक गरी घर खर्चको लागि ७० हजार रुपैयाँ मिटरब्याजी चौधरीसंग ऋण लिएकी थिइन् । दुई महिनामै ७० हजारको चर्को ब्याज जोडर २०७४ फागुन ५ गते १ लाख ७३ हजार २ सय रुपैयाँ सावाँ पुर्याएका थिए । सोहि दिन चौधरीले स्थानीय ऋणी महिला तारा मण्डललाई साहुको रुपमा खडा गरी ममता देवीसंग साबाँको ४ गुना बढी ६ लाख ९२ हजार ८ सय रुपैयाँको कपाली तमसुक बनएर सहीछाप गराएका थिए । जुन ममता देवीले लिएको ऋणको झण्डै १० गुना बढीको तमसुक हो ।

तमसुकमा तल एकलाईनमा १ लाख ७३ हजार २ सय रुपैयाँको प्रतिबजार ३ हजार ५ सय ब्याज तिर्नुपर्ने उल्लेख छ । प्रतिबजार हजारले उक्त ऋणको महिनाको साढे २४ हजार रुपैयाँ ब्याज हुन्छ । यस हिसाबले सयकडा १७२ प्रतिशत ब्याज हुन जान्छ ।

ममतादेवी मण्डलसंग सुदखोर चौधरीले गराएको तमसुकको प्रतिलिपी ।

यता ऋणी ममताकी पति रामचन्द्र मण्डलले आफु मलेसियामै रोजगारीमा रहेको बेला पैसा पठाएर ७० हजारको ब्याजसहित गरी १ लाख ३० हजार ऋण चौधरीलाई चुक्ता गरेको बताए । तर तमसुक अझै चौधरीले फिर्ता नगरेको रामचन्द्रको दुखेसो छ ।

‘तमसुक बनाएको तीन हिना भित्रै मैले मलेसियाबाट पैसा पठाएर हरहिसाब गरी ऋण चुक्ता गरिदिएको छु । म विदेशबाट फर्केपछि थुप्रै पटक चौधरीसँग तमसुक मागे । तर दिन मानेका छैनन् । भन्छ ८० हजार मात्रै तिरेका छौं । ५० हजार अझै तिर्नुपर्छ’ रामचन्द्रले भने ‘मसंग तमसुकको फोटोकपी नभएकोले केहि भनेको छैन । तर पनि उनले राखेको तमसुकले मलाई कुनैबेला पनि उठीबास गराइदिन सक्छन् ।’

समयमै ऋण फिर्ता नतिर्नेलाई यातना र श्रीमीत उठाइदिने धम्की, चर परिवार विस्थापित

विजय चौधरीसँग ऋण लिएका एक व्यक्ति चरम यातनापछि गाउँबाटै विस्थापित भएको र उनले अकालमै ज्यान गुमाउनुपरेको घटना समेत सार्वजनिक भएको छ । पछिल्लो दुईवर्षमा सुदखोर चौधरीको ऋण तिर्न नसक्दा उनको यातना, धाकधम्की, कुटपिट तथा बर्बताले चारजना गाउँबाट नै विस्थापित भएका छन् ।

तीन वर्षअघि औरहीकै अन्दाजी ३८ वर्षीय मदन चौधरीले सुदखोर विजय चौधरीसँग घरखर्चका लागि लिएको ऋण समयमा नतिर्दा उनलाई दुईपटक शौचालयमा थुनेर यातना दिएको गाउँलेहरु बताउँछन् ।

चौधरीको यातनापछि परिवारसहित गाउँबाट झण्डै २ वर्षअिघ विस्थापित भएका मदन कुटपिटले भएको स्वास्थ्य समस्याको कारण केहि समयपछि दम तोडे । गाउँलेका अनुसा उनलाई घरमा समेत कतिटक पसेर धाकधम्की तथा कुटपिट सुदखोर चौधरीले गरेका थिए ।

लिएको ऋण समयमा तिर्न नसक्दा मिटरब्याजी चौधरीको यताना र धम्कीले स्थानीय नथुनी साहले पनि एकवर्ष अघि गाउँछाडेका थिए । समयमा ऋण तिर नत्र श्रीमतीलाई उठाएर लग्छु भन्ने धम्की दिएपछि नथुनी साह गाउँबाट विस्थापित भएको स्थानीय बासुदेवमण्डलले बताए ।

‘नथुनीले ऋण तिर्न नसकेपछि चौधरीले उनकी श्रीमतीलाई नै उठाएर लग्ने धम्की दिए। त्यसपछि उनी भागे,’ बासुदेवले भने ।

समयमै ऋण फिर्ता नगरे श्रीमती उठाएर लैजाने सुदखोर चौधरीले धम्की दिएपछि विस्थापित भएका नथुनी साहको घर

चौधरीसंग लिएको ऋण तिर्न नसक्दा उनको तानावाना सहन नसकी गएको ६ महिना अघि सोही गाउँकै लक्ष्मण झा र राजु राउत विस्थापित भएको रामचन्द्र मण्डल बाउँछन् ।
मिटरब्याजी चौधरीले गरिबको बाध्यताअनुसार कसैलाई १ लाखको बजारको १ हजारदेखि बजारको ५ हजारसम्म ब्याज असुल गर्ने गरेको रामचन्द्रको भनाइ छ ।

चौधरीले यस बस्तीका दर्जनौँ गरिबलाई घरखर्च, विवाह, ब्रतबन्धको बेला चर्को ब्याजदरमा ऋण दिएका छन् । सो बस्तीमा ६५ घरपरिवार दलित र विपन्न छन् ।

सरकार र प्रशासनले समयमै पीडितलाई बचाउन र दोषी विजयमाथि कारबाही गर्न नसके वस्तीका गरिबहरु विस्थापित हुने स्थानीहरु बाउँछन् । यता सुदखोर चौधरीले आफू नियमसंगत हिसाबले मात्र ऋण लगानी गरेको दाबी गर्दै फोन काटे ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *