धनुषामा खेतमा काम गर्न निस्केका युवक मृत भेटिए
टुडेपाटी-
जनकपुरधाम, भदौ २१ गते ।
धनुषामा खेतमा काम गर्न निस्केका युवक खेतमा मृत अवस्थामा फेला परेका छन् । आइतबार दिउाँसो धनुषाको धनुषाधाम नगरपालिका ९ का ३५ वर्षीय दिनेश मण्डल खेतमा मृत अवस्थामा भेटिएका हुन् ।
मध्याहन्न १२ बजे पानी परिरहेको बेला खेतमा काम गर्न निस्केका मण्डल घरदेखि करिब २ सय मिटर पर खेतमा मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।
मृतक युवकको शरीरमा कतै कुनै प्रकारको चोटपटक नदेखिएकाले चट्यांग लागेर मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । पोस्टमार्टम रिपोर्ट पश्चात मात्र उनको मृत्युको कारण भन्न सकिने र घटना विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय ढल्केबरका इन्सपेक्टर तीर्थ कार्कीले बताए ।
मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
आइतबार दिउँसो नै धनुषाकै धनुषाधाम नगरपालिका ७ किसानपुरका अन्दाजी ४२ वर्षीय मोहिता सदाको चट्यांग लागेर मृत्यु भएको छ ।
Sponsored