TodayPati

जनकपुर-जयनगर रेल आगामी आर्थिक वर्षदेखि चल्ने

टुडेपाटी

जनकपुरधाम, फागुन १० गते ।

धनुषाको जनकपुर देखि भारतको जयनगर पहिलो चरणको रेल सञ्चालन गर्न अझै छ महिना लाग्ने रेल विभागका महानिर्देशक बलराम मिश्रले बताएका छन् । दक्ष जनशक्ति र भौतिक पुर्वाधार तयार नभएकाले आगामी आर्थिक वर्षदेखि मात्रै रेल सञ्चालनमा आउने महानिर्देशक मिश्रले बताए ।

Sponsored

मिश्रका अनुसार रेलको ट्रयाक तयार भए पनि जनशक्ति अभाव र रेल ल्याउन समय लाग्ने भएकाले आगामी आर्थिक वर्षपछि मात्रै सञ्चालनमा ल्याउन सकिने अवस्था रहेको छ ।उनले भने, ‘भारतको चेन्नईमा बनिरहेका दुईवटा आधुनिक रेल चैतको तेस्रो सातासम्म नेपाल ल्याउने भएको छु’।

रेल सञ्चालनका लागि आवश्यक कर्मचारी भर्नाको प्रक्रिया अघि बढेको छ। जनकपुर–जयनगरमा रेल चलाउन कम्तिमा २०० कर्मचारी आवश्यक पर्ने आँकलनअनुसार विभागले विज्ञापन गरिसकेको महानिर्देशक मिश्रले थपे । नेपालमा ल्याइने दुईवटा रेलमध्ये एउटाको निर्माण सम्पन्न भएर परीक्षण समेत भइसकेको छ भने अर्कोको निर्माण कार्य सकेर चैतको तेस्रो साताभित्र ल्याउने तयारी छ।

भारतको जयनगरदेखि जनकपुर ३५ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भइसकेको छ। सञ्चालनका लागि विदेशी प्राविधिक भर्ना गर्ने निर्णय भइसकेको र रेलको चालक खोज्ने काम भइरहेको मिश्रले बताए । उनले भने‚ ‘नेपालमा रेल सञ्चालन गर्नु जनशक्ति र भौतिक पूर्वाधारका हिसाबले निकै कठिन काम हो। हामीले प्रयास गरिरहेका छौँ। जतिसक्दो छिटो सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ।’

Sponsored

विभागले यसअघि यहि फागुनदेखि जनकपुर–जयनगरमा रेल चलाउने योजना बनाएको थियोे ।

जयनगर–जनकपुर रेलवे ट्रयाक, घरलगायत संरचना र जयनगर स्टेसन चाँडै नै भारतले नेपाललाई स्तान्तरण गर्ने कार्यक्रमको तयारी भइरहेको समेत उनले बताए । नेपाल र भारतबीच यसअघि भएको सम्झौतामा नेपालमा रेल सेवा सञ्चालन नहुन्जेल जयनगर रेलवे स्टेसन नेपालले नै सञ्चालन गर्ने व्यवस्था गरिएको छ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *