खतिवडाको राजीनामापछि यी हुन अर्थमन्त्रीकालागि दौडधुप गर्ने चार नेताहरु, को बन्लान मन्त्री ?
टुडेपाटी
काठमाडौँ, भदौ १९ गते ।
युवराज खतिवडाले अर्थमन्त्रीबाट राजीनामा दिएलगतै मन्त्री बन्न नेताहरुले दौडधुप बढाएका छन् ।
पछिल्लो समय संसद सदस्य नरहेका मन्त्री खतिवडाले मन्त्री नियुक्त भएको ६ महिना पुग्नु १ दिनअघि राजीनामा दिएका हुन् ।
संसद सदस्य नरहेको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री रहन नसक्ने संवैधानिक व्यवस्था छ । त्यसै अनुरुप उनी राजीनामा दिएका हुन् ।
उनको राजीनामा पछि पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतम, महासचिव विष्णु पौडेल र जनार्दशन शर्मा सबैभन्दा धेरै प्रतिष्पर्धामा देखिएका छन् ।
Sponsored
नेकपा नेता माधव नेपालनिकट सुरेन्द्र पाण्डे पनि अर्थमन्त्रीका आकांक्षी हुन् । यद्धपी प्रधानमन्त्रीले पाण्डेलाई शहरी विकास मन्त्रालयको जिम्मेवारी दिने चर्चा नेकपा वृत्तमा छ । तर, पाण्डे अर्थ मन्त्रालयबाहेक अन्य मन्त्रालयको जिम्मेवारी लिने पक्षमा छैनन् ।
खतिवडालाई प्रमुख आर्थिक सल्लाहकार बनाएर प्रधानमन्त्री ओलीले अर्थ मन्त्रालय आफैँसँग राख्ने तयारी गरेको पनि बताइन्छ । तर, यो परिस्थितिअनुकूल हुने देखिँदैन । बरु चर्चामा आएजस्तै प्रदीप ज्ञवालीलाई अर्थमन्त्री र खतिवडालाई आर्थिक सल्लाहकार बनाउन सक्ने धेरैको अनुमान छ ।
ओलीको संकट टार्न भूमिका खेलेका जनार्दन शर्माको नजर पनि अर्थमै छ । गौतमसँग संगठन विभागमा सँगसँगै काम गरेका शर्माले नै अर्थमन्त्रीमा गौतमको हल्ला चलाएका हुन् । कदाचित गौतमलाई गृह मन्त्रालयमा पठाउन सकिए पूर्वमाओवादीको भागमा अर्थ मन्त्रालय पर्ने र त्यसमा आफूले दाबी गर्न सक्ने बुझाइ शर्माको छ ।
अर्थ मन्त्रालयको आकर्षणका कारण नेकपाका नेताहरू दौडधुप गरिरहेका बेला अर्थतन्त्र झन् खतरामा देखिँदै छ । पूर्वगर्भनर दीपेन्द्रबहादर क्षत्रीको विश्लेषणमा बढ्दो प्रशासनिक खर्चसँगै अर्थतन्त्रमा देखिएको संकुचनले अब जो अर्थमन्त्री भए पनि संकटमोचनको पिरलो चर्को हुनेछ ।
हुन पनि, कोरोना महामारीसँगै राजस्व तथा कर संकलनमा आएको गिरावटले सरकार दैनिक खर्च धान्नै नसक्ने अवस्थामा पुगेको छ।
त्यसमाथि घट्दो वैदेशिक सहायताले पनि अर्थतन्त्रलाई दबाबमा पारिरहेको छ । दबाब र अभावले थिचिने बेला अब आउने अर्थमन्त्रीले कम्ता जोखिम मोल्नुपर्ने छैनन्, जसको सामना गरेर अर्थतन्त्र चलायमान बनाउन कम विवेकले पनि पुग्दैन ।