विजय राम मृत्यु प्रकरण : डीएसपी महतोपछि रौतहटका एसपी खड्का पनि तानिए
टुडेपाटी-
जनकपुरधाम, भदौ १८ गते ।
विजय राम चमार मृत्यु प्रकरणमा रौतहटका प्रहरी प्रमुख जिम्मेबारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी उपरीक्षक रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय नक्सालमा तानिएको हो । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहलाई पठाइएको छ ।
गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक अनुसन्धानले पनि प्रहरीले यातना दिएको देखाएको थियो । त्यसपछि प्रदेश नं. २ प्रहरी कार्यालयले प्रहरी निरीक्षक नविनकुमार सिंह, हवल्दार मुन्नाकुमार सिंह र फिरोज मियालाई निलम्बन गरिसकेको छ ।
निलम्बित तीनै जना प्रहरी जिल्ला प्रहरी कार्यालय, रौतहटमा कार्यरत थिए । प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार प्रकरणमा एसपी खड्काको कमाण्ड कमजोर देखिएकाले नेतृत्व परिवर्तन गरिएको हो ।
प्रहरी हिरासतमा उपचारको क्रममा विजय रामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोलाई प्रदेश प्रहरी कार्यालय जनकपुर तानिएको छ । हाल उनको ठाउँमा डीएसपी नरेन्द्र कुँवरलाई पठाइसकिएको छ ।
गरुडा नगरपालिका–८, जिगंडवाका २० वर्षीय निरन्जन रामको हत्या गरेको अभियोगमा विजय महरालाई साउन ३२ गते प्रहरीले पक्राउ गरेको थियो । प्रहरी हिरासतमा रहेकै बेला गम्भीर अवस्था भएपछि उपचारका क्रममा वीरगञ्जमा उनको मृत्यु भएको थियो ।
Sponsored
१९ वर्षीय विजयको शरीरभरि निलडाम र घाउचोट भेटेपछि स्थानीयले प्रहरीको कुटपिटका कारण मृत्यु भएको दाबी गर्दै आएका छन् । उनको घटनापछि गरुडामा दलित समुदायले दोषी प्रहरीमाथि कारबाहीको माग गर्दै निरन्तर प्रदर्शन गर्ने गरेका छन् ।