सप्तरीमा थप दुईजना काेराेना संक्रमितको मृत्यु
शुभ नारायण यादव-
सप्तरी, भदौ १८ गते ।
सप्तरीमा थप दुई जना काेराेना संक्रमितकाे मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजगढ गाउँपालिका वडा नं. ६ का एक ६५ वर्षीय पुरुष तथा राजविराज नगरपालिका वडा नं. ७ निवासी अन्दाजी ५५ वर्षीय एक पुरुष रहेकाे जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । उनका अनुसार ती दुवै जनाकाे धरानस्थित वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिस्थानमा उपचारकाे क्रममा मृत्यु भएको हाे ।
उनिहरुलाई विगत केही दिनदेखि ज्वराे अाएपछि तत्काल राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार सम्भव हुन नसकेपछि थप उपचारकाे लागि धरान पठाएको तथा धरानमै दुबै जनाकाे मृत्यु भएको प्रमुख यादवले बताए ।
ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि बुधबार उपचारका लागि बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाउनुअघि राजगढ गाउँपालिकाका ती पुरुषको राजविराजमा स्वाब लिइएको थियो । उपचारका क्रममा उनको धरानमै मृत्यु भएको र पीसीआर परीक्षण रिपोर्ट पनि पोजिटिभ आएको स्वास्थ्य कार्यालय प्रमुख यादवको भनाइ छ । राजगढ गाउँपालिका वडा नं. ६ का पुरुष राजविराजस्थित नेपाल टेलिकममा प्रशासन सहायक अधिकृतको रुपमा कार्यरत थिए ।
त्यस्तै, केही दिनअघि स्वास्थ्य समस्याका कारण धरानमा उपचार गराइरहेका राजविराज ७ का ६५ वर्षीय पुरुषलाई उपचार अघि स्वाब लिइएको थियो । उनको रिपोर्ट पोजिटिभ आएपछि धरानमै उपचार भइरहेकोमा बिहीबार मृत्यु भएको राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवले जानकारी दिए ।
स्वास्थ्य कार्यालय प्रमुख यादवका अनुसार सप्तरीमा हालसम्म ८ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । सप्तरीमा हालसम्म ८ जना कारोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored