TodayPati

जनकपुरधाममा धर्मशाला बनाउने भारतका पूर्वराष्ट्रपति मुखर्जीको घोषणा अधुरै

टुडेपाटी-
जनकपुरधाम, भदौ १६ गते ।

कोरोना संक्रमणबाट सोमबार साँझ भारतका पूर्व राष्ट्रपति प्रणव मुखर्जीको निधन भयो । साउन २६ गते कोरोना संक्रमण पुष्टि भएका मुखर्जीको आइसीयु र भेन्टिलेटरमा उपचार भएपनि अन्ततः उनको सोमबार साँझ मृत्यु भयो ।

Sponsored

उनको मृत्यु भएसँगै उनले राष्ट्रपति रहेका समय जनकपुरधाममा गरेका बाचा अपुरै रह्यो ।

सन् २०१२ मा भारतको तेह्रौ राष्ट्रपतिको रुपमा निर्वाचित भएका मुखर्जी आफ्नो राष्ट्रपतिकालमै वि.सं. २०७३ साल कात्तिक १९ गते तीन दिवसीय नेपालको राजकीय भ्रमणको क्रममा जनकपुरधाम आएका थिए ।

उनले सम्बोधनमा भनेका थिए,‘नेपाल र भारतबीचको अटुट सम्बन्ध त छँदैछ साथै जनकपुरले पनि भारतको विभिन्न धर्मस्थललाई धार्मिक आस्थासँग जोडेकाले भारत सरकारले यो क्षेत्रको विकासमा गम्भीर छ र हुनुपर्छ ।’

Sponsored

मुखर्जीले आफ्नो १३ मिनेटको सम्बोधनको क्रममा जनकपुरधाममा दुईवटा धर्मशाला र परिक्रमा सडक भारत सरकारले निर्माण गर्ने घोषणा गरेका थिए । उनले यो घोषणा गर्न पाउँदा आफू हर्षित रहेको बताएका थिए ।

यो क्षेत्रको सडक, विद्युत, औद्योगिक क्षेत्रलगायत अन्य विकासका कार्यमा पनि भारत सरकारले निरन्तर सहयोग जारी राख्ने उनले आश्वासन समेत दिएका थिए । तर मुखर्जीले घोषणा गरेको ४ वर्ष बितिसक्दा पनि जनकपुरधाममा तिर्थालुको लागि धर्मशाला र चक्रपथ निर्माणको उनको सपना पूरा हुन सकेको छैन।

जनकपुरधामको भ्रमणको क्रममा राष्ट्रपति मुखर्जीले एक घण्टा १५ मिनेट बिताएका थिए । उनले आफ्नो भ्रमणको क्रममा जानकी मन्दिरमा भगवान श्रीरामजानकीको करीब ३० मिनेट विशेष पूजापाठ गरेका थिए । पूजापछि तिरहुतिया गाछीमा जनकपुरधाम उपमहानगरपालिकाका कार्यकारी निर्देशक पुण्यप्रसाद लुइटेलले जनकपुरवासीको तर्फबाट मुखर्जीलाई नागरिक अभिनन्दन गरेका थिए ।

राष्ट्रपति मुखर्जीलाई नेपाली, मैथिली र अंग्रेजी भाषामा तयार पारिएको अभिनन्दन पत्रमा जनकपुर, मिथिला र नेपालको भारतका अयोध्या लगायत सहरबीचको आन्तरिक सम्बन्ध, राम र सीताबीचको वैवाहिक घटनाक्रम तथा दुई देशबीचको पारस्परिक सम्बन्धको वारेमा उल्लेख गरिएको थियो ।

यता जनकपुरधाम उपमहानगरपालिकाका उपप्रमुख रीता कुमारी मिश्रले उनले घोषणा गरेका धर्मशाला निर्माण र चक्रपथको निर्माणको लागि उपमहानगरपालिकाको तर्फबाट अहिले सम्म पहल नगरिएको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *