सप्तरीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु
शुभ नारायण यादव-
सप्तरी, भदौ १४ गते ।
सप्तरीमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । सप्तरीको राजविराज नगरपालिका–२ तेतरीगाछीकी ६५ वर्षीया एक वृद्ध महिलाको मृत्यु भएको हो ।
शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन गरिएको थियो । उनको स्वाबको रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो ।
तर शनिबार राति उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रिफर गरिएको थियो । धरान जाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रन्जितकुमार झाले जानकारी दिए ।
योसँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृतकमध्ये ५ जना सप्तरीको सदरमुकाम राजविराजकै छन् भने एक जना रुपनी गाउँपालिकाका हुन् ।
यता लामाे समयदेखिकाे निषेधाज्ञाका कारणले सप्तरीको जनजिवन कष्टकर बन्दै गएको छ ।
Sponsored