TodayPati

प्रहरी हिरासतमा ज्यान गुमाएका विजय रामको घटनाबारे उच्चस्तरीय छानबिन सुरु

टुडेपाटी-
रौतहट, भदौ १३ गते ।

इलाका प्रहरी कार्यालय गरुडाका हिरासतमा मृत्यु भएका विजय रामको घटनाको आजैदेखि छानबिन हुने भएको छ ।

पीडित परिवारको अनुरोधमा गृह मन्त्रालयद्वारा गठित ३ सदस्यीय उच्च छानबिन टोलीले १९ वर्षीय विजयरामको प्राकृतिक मृत्यु हो कि प्रहरी हिरासतमा दिएको चरम यातनाको कारण मृत्यु भएको हो भन्ने छानबिन गर्नेछ ।

Sponsored

गृह मन्त्रालयको निर्देशनमा शुक्रबार गठन भएको ३ सदस्यीय टोली घटनाको स्थलगत छानबिन गर्न काठमाडौँबाट हिँडिसकेको छ । आजैदेखि छानबिन प्रक्रिया सुरु हुने रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

यद्यपी सिडिओ यादवले छानबिन टोली कसको नेतृत्व आउँदैछ सोबारे खुलाएनन् । शुक्रबार बसेको जिल्ला सुरक्षा समितिको बैठकमा छानबिन समितिले १५ दिनभित्र प्रतिबेदन बुझाउने र सो अवधीभित्र कुनै किसिमको आन्दोलन नगर्ने पीडित पक्षसँग सहमति भएको छ ।

साथै मृतक विजयरामको शव पोष्टमार्टम पीडित परिवारको मागअनुसार शुक्रबार काठमाडौँस्थिति त्रिबि शिक्षण अस्पतालमा भएको र हालसम्म रिपोर्ट आउन नसकेको सिडियो यादवले बताए ।

Sponsored

गत साउन ३२ गते राती गरुडा नगरपालिका–८ जिंहडियाका २२ वर्षीय निरञ्जन राम चमारको धारिलो हतियारले घाँटी रेटेर हत्या भएको थियो । प्रहरीले अनुसन्धानको लागि सोही गाउँका विजयरामसहित ७ जनालाई हत्या आरोपमा पक्राउ गरेको थियो ।

आवश्यक अनुसन्धानपछि गत भदौ १ गते इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी ज्ञानकुमार महतोले विजयरामसहित सातै जनामाथि ज्यानसम्बन्धी मुद्दा दर्तागरी जिल्ला अदालतबाट म्याद थमाएर सार्वजनिक गरेका थिए ।

सोको भोलिपल्टदेखि विजयरामका परिवार तथा दलित अगुवाहरु प्रहरीले हत्याको मुख्य योजनाकारलाई छोडेर निर्दोषलाई फसाएको भन्दै गरुडामा प्रहरीविरुद्ध आन्दोलन गर्दै आए ।

यसैबीच प्रहरी हिरासतमा रहेका विजयरामको अचानक स्वास्थ अवस्था बिग्रँदै जाँदा प्रहरीले उपचारको लागि स्थानीय अनामिका अस्पतालमा भर्ना गरेको थियो ।

डाक्टरको सल्लाहअनुसार प्रहरीले विजयरामलाई थप उपचारका लागि ४ दिनअघि वीरगञ्जस्थित नेशनल मेडिकल कलेज पठायो ।

विजयरामलाई उपचारका लागि वीरगञ्ज पठाएको खबरपछि उनका अभिभावकले निर्दोष विजयरामलाई हिरासतमा चरम यातना दिएर जबर्जस्ती हत्याको अभियोग स्वीकार गर्न लगाएको प्रहरीमाथि आरोप लगाउँदै आन्दोलन जारी राखेका थिए ।

यसैबीच ३ दिनअघि विजयरामको नेशनल मेडिकल वीरगञ्जमा उपचारको क्रममा मृत्यु भएपछि जिल्लाको अवस्था तनावग्रस्त बनेको थियो ।

मृतक विजयरामका बाबु पनिलाल रामले प्रहरीले चरम यातना र अनुसन्धानको नाममा थर्डडिग्री प्रयोग गरेकाले सहन नसकेर विजयको मृत्यु भएको दाबी गर्दै आएका छन् ।

यता जिल्ला प्रहरी प्रमुख एसपी रवीराज खड्काले पनिपाल रामको आरोपको खण्डन गरेका छन् । विजयरामको पिसाबमा गड्बडी देखिएको कारण थप उपचारका लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा पठाएको र त्यहीँ विजयको किड्नीमा खराबी देखिएको बाहिर आएको एसपी खड्काले बताए ।

डाक्टरको सल्लाहअनुसार विजयरामको किड्नी नेशनलमा २ पटक डायलासिस भएको र अन्तमा दुवै किड्नीले कामगर्न छोडेपछि मृत्यु भएको एसपी खड्काको दाबी छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *