विजय राम मृत्यु प्रकरण : शव पोस्टमार्टमका लागि काठमाडौं लगियो
टुडेपाटी-
जनकपुरधाम, भदौ १२ गते ।
प्रहरी हिरासतमा उपचारको क्रममा मृत्यु भएका रौतहटका विजय राम महराको शव पोस्टमार्टमको लागि काठमाडौं लगिएको छ । विजयको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्जमा पठाइएको प्रदेश–२ प्रहरी कार्यालयले जनाएको छ ।
गएको साउन ३१ गते भएको रौतहटको गरुडा नगरपालिका ८ का २० वर्षीय स्थानीय निरञ्जन राम महराको हत्या आरोमा पक्राउ परेका स्थानीय १९ वर्षीय विजय राम महराको उपचारको क्रममा बुधबार मध्यराति वीरगञ्ज स्थित नेश्नल मेडिकलमा मृत्यु भएको थियो । मृत्यु पश्चात परिवारजन र दलित समुदायले विजयको चरम यातना दिएर प्रहरीले हत्या गरेको आरोप लगाउँदै निष्पक्ष छानविनको माग गरेका छन् ।
स्थानीय प्रशासन र आफन्त बिचमा शव पोष्टमार्टम गर्ने सहमति भएपछि विजयको शव पोस्टमार्टमको लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको प्रदेश २ प्रहरी कार्यालयका डिआईजी धिरजप्रताप सिंहले जानकारी दिए ।
घटना पश्चात आफन्तजन र दलित समुदायले बिहीबार गरुडामा घटनाको निष्पक्ष छानविन र दोषीमाथि कारबाहीको माग गर्दै प्रदर्शन गरेका थिए । उनीहरुले इलाका प्रहरी कार्यालय गरुडा समेत घेराउन गरेका थिए ।
विजयको मृत्यु शंकास्पद रहेको ठहर गर्दै मानवअधिकार सम्बन्धी काम गर्ने विभिन्न संघसंस्थाले उच्च स्तरीय छानविनसहित चार सुत्रिय माग गरेका छन् ।
।
Sponsored