नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, यी हुन मृतकहरु
टुडेपाटी
काठमाडौँ, भदौ १२ गते ।
कोरोना संक्रमणबाट नेपालमा थप ४ जनाको मृत्यु भएको छ । सुनसरी, भक्तपुर र मकवानपुरमा गरी बिहीवार रातिदेखि शुक्रवार विहानसम्म चार जनाको मृत्यु भएको हो ।
सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार बिहानै दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार झापाका ८३ वर्षीय पुरुष र मोरङकी ५६ वर्षीया महिलाको मृत्यु भएको हो। बिहान सवा ३ बजेतिर महिलाको तथा पौने ४ बजेतिर पुरुषको मृत्यु भएको उनले जानकारी दिए।
उनका अनुसार दुवै संक्रमितमा खोकी, ज्वरो तथा श्वासप्रश्वाससम्बन्धी निकै समस्या थियो। योसँगै प्रदेश १ मा कोभिडका कारण मृत्यु भएकाको संख्या २७ पुगेको छ। यस्तै भक्तपुरमा मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।
Sponsored
बिहीबार दिउँसो ती महिलालाई नागरिक कम्युनिटी अस्पताल गठ्ठाघर ल्याइपुर्याउँदा मृत्यु भइसकेको र पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पतालकी प्रमुख प्रशासक मञ्जु तिमल्सिनाले बताइन् ।
मृतक महिलाको हेल्थ हिस्ट्री सोध्दा कोरोनाको लक्षण देखिएकाले पीसीआर परीक्षण गराएको र बिहीबार राति नै संक्रमण पुष्टि भएको उनले बताइन् । मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गर्ने तयारी भएको अस्पताल प्रशासनले जनाएको छ ।
यसैगरी चितवन मेडिकल कलेजमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हेटौंडा उपमहानगरपालिका १९ कि ७१ वर्षीया महिलाको आज विहान मृत्यु भएको कलेजका निर्देशक डा। दयाराम लम्सालले जानकारी दिए ।
उनलाई ७ गते चितवन मेडिकल कलेजमा उपचारका लागि ल्याइएको र परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएको थियो । उनी दम र निमोनियाको समेत बिरामी थिइन् ।
अहिले कलेजको आईसीयूमा २० जना उपचाररत छन् । तीमध्ये ३ जनाको भेन्टिलेटरमा राखेर उपचार जारी रहेको कलेजका निर्देशक डा। लम्सालले जानकारी दिए ।