बाराको गर्भवती महिलासहित वीरगञ्जमा थप ३ जना काेराेना संक्रमितको मृत्यु
आरोहण साह-
वीरगन्ज, भदौ ११ गते ।
पर्सा र बारामा थप ३ जनाकाे काेराेना भाइरस संक्रमणबाट मृत्यु भएकाे छ । बाराकाे एक गर्भवती महिलासहित पर्साका दुई जना पुरूष कोरोना संक्रमितको मृत्यु भएको हाे ।
बाराको हर्दियानिवासी २३ वर्षीया महिला नारायणी अस्पतालमा मृत्यु भएको छ । अस्पतालमा उपचारकै क्रममा आज बिहीबार बिहान साढे ६ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले जानकारी दिए ।
उनकाे अनुसार मृत्युु भएकी महिला गर्भवती थिइन् । केहि दिन ज्वरो र श्वासप्रश्वासको समस्या देखिएपछि उनकाे आफन्तले नारायणी अस्पतालमा भर्ना गरेका थिए । अस्पतालमा उपचारको क्रममै ती महिलाको स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको थियो. कोरोना संक्रमणबाट मृत्यु भएकी ती महिला ३३ हप्ताकी गर्भवती रहेकी थिन्न ।
ती गर्भवती महिलामा उच्च रक्तचापसमेत रहेको अस्पतालले जनाएकाे छ । यसतै पर्साको वीरगन्ज महानगरपालिका–१४ बहुअरी निवासी ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी बिशेष काेराेना अस्पताल वीरगन्ज हेल्थ केयरमा मृत्यु भएको छ ।
कोरोना मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिससमेत भइरहेको थियो। गत साउन ३० मा उनी कोरोना अस्पतालमा भर्ना गरेर उपचार भइरहेकाे थियाे । यसैगरी बुधबार साँझ साढे ६ बजे पर्साको धोबनी गाउँपालिका–३ गुलरिया निवासी ७२ वर्षीय पुरुषकाे उपचारकाे क्रममा मृत्यु भएको छ ।
Sponsored
नारायणी अस्पतालको आइशोलेसनमा उपचारकै क्रममा उनको बुधबार राति मृत्यु भएको थियो । ज्वरो आउनुका साथै श्वासप्रश्वासमा समेत समस्या देखिएपछि उनलाई भदौ ८ गते नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । त्यहि दिन उनको स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो ।