बटेश्वरमा गाउँपालिकामा पुनः एक साता लकडाउन थप
नितेश यादव-
जनकपुरधाम, भदौ ११ गते ।
कोरोना जोखिम कायमै रहेपछि धनुषाको बटेश्वरमा पुनः एक साता लकडाउन थपिएको छ । बिहीबारदेखि लागू हुने गरी अत्यावश्यक स्वास्थ्य सेबा बाहेक सम्पूर्ण सेबाहरु बन्द रहने गाउँपालिका कार्यालयले निर्णय गरेको हो ।
बटेश्वर गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत तथा क्वारेन्टाइन संयोजक रुद्रनारायण यादवको अध्यक्षतामा बुधबार बसको बैठक अनुसार भदौ १७ गतेसम्मको लागि लकडाउन थप गरिएको जनाइएको छ ।
गाउँपालिक अन्तर्गत लाग्ने सानो देखि ठूलो सम्पूर्ण हाटबजार पूर्णरूपमा बन्द गर्न गराउने साथै सानो देखि ठूलो अत्यावश्यक साधन लगायत पसलहरु सबै बिहान ७ बजे देखि १० बजे सम्म खोल्ने दिने गरि निर्णय भएको गाउँपालिका अध्यक्ष राउतले जानकारी दिए ।
त्यस्तै गाउँपालिका अन्तर्गतको सैलुन, पान पसल र होटल पूर्णरुपमा बन्द रहने छ भने औषधि पसल र स्वास्थ्य सेबा खुल्ला रहने जारी सूचनामा भनिएको छ ।
यसअघि गत साउन ३१ गते घोषणा गरिएको लकडाउनको अवधि आज राति १२ बजे समाप्त हुने छ । साथै गाउँपालिकाले घोषणा गरेको लकडाउन कागजमै सीमित भएको एक स्थानीयले बताएका छन् ।
गाउँपालिका अध्यक्ष राउतले यसअघि साउन ३२ गतेदेखि लागू हुने गरि गाउँपालिकाले घोषणा गरेको लकडाउनको समयावधिमा पनि सबै हाटबजार नियमित लाग्दै आएको छ ।
बजारमा भिडभाड पनि उस्तै देखिने गरिएको स्थानीयले गुनासो गरेका छन् । बटेश्वर गाउँपालिका ४ स्थित लाग्ने बटेश्वर बजार अगाडि नै प्रहरी चौकी हुँदा पनि सो बजार पनि लाग्ने गरेको छ । यस्तो कागजी लकडाउनमा गरिब जनता तथा दिनहुँ ज्याल मजदुरी गरि खानेलाई मात्र दुख दिन खोजेको स्थानीयको आरोप छ ।
यता बटेश्वर गाउँपालिका वडा नम्बर ३ का एक ५० वर्षीय पुरुषमा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ । यसअघि एकजना २५ वर्षीय एम्बुलेन्स चालकमा संक्रमण पुष्टि भएको थियो । त्यसै बटेश्वरका एक कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।
Sponsored