सर्लाहीमा बिहीबार ९३ जना कोरोना संक्रमित थपिए
टुडेपाटी-
सर्लाही, भदौ ४ गते ।
सर्लाहीमा एकैदिन ९३ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ । जसमध्ये १८ महिला र ७५ पुरुष छन् ।
बिहीबार थपिएका संक्रमित बागमतीमा ५२ लालबन्दीमा २४ र ईश्वरपुर नगरपालिकाकमा १५ जनामा कोरोना देखिएको सम्बन्धित नगरपालिकाले जनाएका छन् । दुई जना संक्रमितको सम्बन्धित तह खुल्न सकेको छैन ।
बागमती नगरपालिकाले गत सोमबार जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, स्वास्थ्यकर्मी, सहकारीकर्मी, बैंकका कर्मचारीलगायत २ सय ४२ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि काठमाडौंको टेकु पठाएको थियो । जसमध्ये २ सय ३४ जनाको परीक्षण रिपोर्ट आउँदा ५२ जना पोजेटिभ देखिएको नगरपालिकाको स्वास्थ्य शाखा उपसंयोजक पदम रायमाझीले जानकारी दिए । ८ जनाको रिपोर्ट पनि आज साँझसम्म आउने बताइएको छ। ५२ जना संक्रमितमा ८ जना स्वास्थ्यकर्मी, होटल व्यवसायी, बैंकका कर्मचारी, नगरपालिकाकै कर्मचारीलगायत परेका स्वास्थ्यक शाखाका उपसंयोजक रायमाझीले बताए । यस्तै सोमबारै ईश्वरपुर नगरपालिकामा ३ सय २८ मध्ये २ सय ५३ जनामा वडाध्यक्षसहित १५ जनामा पोजेटिभ देखिएको ईश्वरपुर नगर प्रमुख मनोज देवकोटाले जानकारी दिए ।
त्यसैगरी लालबन्दीले मंगलबार २ सय २८ जनाको थ्रोट स्वाब परीक्षणका लागि पठाएकोमा २४ जनामा कोरोना भेटिएको हो । बिहीबार सर्लाहीका थप ९३ सहित आधिकारिक रुपमा प्राप्त हालसम्मको तथ्यांकअनुसार सर्लाहीमा एक हजार २ सय ७७ जनालाई कोरोना देखिइसकेको छ । हाल जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयमा ल्याबहरुबाट रिपोर्टको जानकारी सीधै मेल नआउने हुँदा पालिकैपिच्छे बुझ्नु परेकाले कतिपय पालिकाका स्वास्थ्यकर्मीले स्पष्ट तथ्यांक दिने गरको छैनन् ।
Sponsored