सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गर्न माग गर्दै कंग्रेसद्वारा राष्ट्रियसभा बैठक अवरुद्ध
टुडेपाटी
काठमाडौंं, फागुन ८ गते ।
सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले ७० करोड घुस माग्दै कुराकानी गरेको अडियो सार्वजनिक भएपछि उनको बर्खास्ती र छानवीन माग गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रियसभाको बैठक अवरुद्ध गरेको छ।
राष्ट्रियसभाको बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसदहरु आफ्नो ठाउँबाट उठेपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कांग्रेसका सांसद जीतेन्द्रनारायण देवलाई बोल्ने समय दिएका थिए।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रष्टाचार नगर्ने प्रतिवद्धताविरुद्ध सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले सेक्युरिटी प्रेस स्थापनाको लागि कमिसन मागेको अडियो प्रकरण सार्वजनिक भएको भन्दै तत्काल प्रधानमन्त्रीले सञ्चारमन्त्रीलाई बर्खास्त गर्न माग गरे।
देवले स्वतन्त्र छानवीन समिति बनाएर अडियो प्रकरणबारे सत्यतथ्य बाहिर ल्याउन पनि माग गरे। साथै कमिसन प्रकरणमा सरकारकै मन्त्री मुछिएको विषयमा यो घटना के हो? यसको बारेमा प्रधानमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने माग अघि सारेर संसद बैठक अवरुद्ध पारेको हो।
Sponsored
बर्खास्तगी, छानवीन र प्रधानमन्त्रीको जवाफ नआएसम्म सदन चल्न नदिने चेतावनी दिएपछि बैठक फागुन १५ गतेसम्मलाई स्थगित भएको छ ।