TodayPati

प्रदेश २ का डिआइजी प्रद्युम्न कार्की एआइजी बन्दै, ३ एआइजीकालागि को को लाइनमा ?

टुडेपाटी समाचारदाता
जनकपुरधाम, फागुन ८ गते ।

नेपाल प्रहरीमा एआइजीकालागि डिआइजीहरुको दौडधुप तिब्र भएको छ । खाली रहेको तीन एआइजीका लागि ७ जना डिआइजीले दौडधौप बढाएका हुन् ।
गत माघ २८ गते एकै पटक आइजी, एआइजी र डिआइजीसहित २२ जना ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएपछि नेपाल प्रहरी एक साताबाट एआइजीविहीन छ।
माघ २८ मा बसेको मन्त्रिपरिषद् बैठकले ठाकुर ज्ञवालीलाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गरे पनि एआइजीका बारेमा कुनै निर्णय गरेको छैन।

अहिले एआइजी भएकामध्येबाट आगामी प्रहरी नेतृत्व चयन हुने भएकाले एआइजी बढुवाका लागि डिआइजीबीच दौड तीव्र छ। सात डिआइजी मध्ये एआइजीकालािग सबैभन्दा पहिलो नम्बरको दाबेदारको रुपमा प्रदेश २ का प्रहरी प्रमुख डिआइजी प्रद्युम्न कार्की रहेका छन् ।

देशमा भैरहेको अवैध तस्करी र प्रहरी भित्र आन्तरिक शुद्धिकरणले देशभर चर्चा बटुलेका कार्की कार्यदक्षताले एआइजी बन्ने करिब करिब पक्का भएको गृह स्रोतले जनाएको छ । प्रदेश २ मा समेत अपराध, तस्करी र आन्तरिक शुद्धिकरणमा उठाएको कडा कदमले समेत गृहमन्त्रालयमा उनको राम्रो छवि देखिएको हो ।
यस्तै सुदूरपश्चिम प्रदेशका प्रमुख तारणी लम्साल, नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता शैलेश थापा क्षत्री, विशेष ब्यूरो प्रमुख हरि पाल, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का निर्देशक निरज शाही, प्रहरी प्रधान कार्यालयमा कार्यरत डिआइजी सूर्य उपाध्याय र महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख विश्वराज पोखरेल एआइजी हुने दौडमा छन् ।

Sponsored

उनीहरुमध्ये लम्साल र उपाध्याय आगामी असार २४ गते ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा जानेछन् । जसका कारण लम्साल र उपाध्याय एआइजीमा बढुवा भए पनि अहिलेकै नियम कायम रहे उनीहरुको आइजीपी हुने सम्भावना छैन।

अन्य ५ जनामध्ये जो एआइजी हुन्छन् भावी आइजीपीको प्रमुख दाबेदार उनै हुनेछन् । पोखरेलबाहेक क्षत्री, पाल, कार्की र शाही २०४९ वैशाख १९ मा सेवा प्रवेश गरेका थिए । उनीहरुमध्येबाट जो एआइजीको वरियतामा अगाडि हुन्छन् विद्यमान प्रहरी नियमावली अनुसार २०७९ वैशाख १८ गतेसम्म आइजी हुन पाउनेछन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *