कोरोना संक्रमणबाट नेपालमा थप ३ जनाको मृत्यु, तीनै जना पुरुषमा देखिएका थिए यस्ता लक्षण
टुडेपाटी-
काठमाडौँ, भदौ २ गते ।
कोरोना संक्रमणबाट नेपालमा थप तीनजनाको मृत्यु भएको छ । ललितपुर, काभ्रे र बाँकेमा गरी गएरातिदेखि मंगलवार विहान यो समाचार तयारपार्दासम्म संक्रमणबाट तीनजनाको मृत्यु भएको हो ।
ललितपुरस्थित पाटन अस्पतालमा आज विहान एक जना ३८ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको छ । प्रादेशिक अस्पताल भैरहवामा साउन २८ गते कोरोना पुष्टि भएको थियो। उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ। अहिले उनको शव कसरी व्यवस्थापन गर्नेबारे छलफल भइरहेको अस्पतालले जनाएको छ।
बुटवलस्थित युनिभर्सल मेडिकल कलेजमा पित्तथैलीको अपरेशन गराएका उनको अपरेशन लगत्तै कोरोनासँग मिल्दा जुल्दा लक्षण देखिएपछि परीक्षण गराउदा कोरोना पुष्टि भएको थियो।
यस्तै संक्रमणबाटै बाँकेमको नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको सोमवार राति ११ः४० बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। उनको फोक्सोमा निमोनिया भएको थियो।
ती पुरुषलाई गत साउन ३० मा कोरोना लक्षण देखिएपछि परिवारका सदस्यले साउन ३२ मा उपचारका लागि नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पताल नेपालगन्जमा गरेका थिए। कोरोनाको लक्षण देखिएपछि अस्पतालले पिसिआर जाँचका लागि स्वाब लिएको थियो।
Sponsored
त्यस्तै कोरोना संक्रमणकाकै कारण काभ्रेको धुलिखेल अस्पतालमा आज विहान एक वृद्धको मृत्यु भएको छ। धुलिखेलका ९८ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमल्सिनाले जानकारी दिए।
कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा साउन २७ गते कोरोना संक्रमण पुष्टि भएको थियो। उनी मधुमेह र दमका रोगी रहेको अस्पतालले जनाएको छ ।