TodayPati

प्रदेश २ : जसपा संसदीय दलको नेता चुनिएर मुख्यमन्त्री बन्न नेताहरुको होड, यी हुन ६ दाबेदार

टुडेपाटी-

जनकपुरधाम, भदौ १ गते ।

कोरोना भाइरस महामारीले प्रदेश थला परेको बेला प्रदेश २ का सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा) का नेता तथा मन्त्रीहरु पदकालागि काठमाडौँ दौगडधुप बढाएका छन् ।

Sponsored

राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमको एकिकरणपछि बनेको जनता समाजवादी पार्टी (जसपा) को प्रदेश २ मा संसदीय दलकालागि नेताहरुले शिर्ष नेतृत्वसमक्ष दौडधुप बढाएका हुन् ।

जसपाको समायोजन र पदाधिकारीको कार्यविभाजनबारे छलफल सुरु भएसँगै दलको नेता बन्न सांसदहरुले केन्द्रीय नेतृत्वपंक्तिमा लबिङ थालेका छन् ।

काठमाडौंमा पार्टी अध्यक्ष उपेन्द्र यादव, महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, अशोक राई र डा. बाबुराम भट्टराईलाई भेट्ने सांसदहरूको भिड बढेको छ ।

Sponsored

मुख्यन्त्री राउतसहित प्रदेशका मन्त्री आ–आफ्ना पद जोगाउनका लागि समेत पछिल्लो समय निरन्तर काठमाडौं पुगेर आफ्ना निकट शिर्ष नेताहरूसँगको छलफलमा व्यस्त छन् ।

संसदीय दलका नेता चुनिने सांसद प्रदेशका मुख्यमन्त्री बन्ने छन् । प्रदेशमा तत्कालीन फोरमका संसदीय दलका नेता चुनिएर मुख्यमन्त्री बनेका लालबाबु राउतलाई नै दलको नेता दोह्रयाउने वा नयाँ अनुहारलाई दलको नेता चयन गरी मुख्यमन्त्री बनाउने विषयमा जसपाभित्र व्यापक चर्चा सुरु भएको छ ।

अघिल्लो पटक तत्कालीन राजपा र संघीय समाजवादी फोरमको संयुक्त सरकार बनेको बेला राजपा संसदीय दलका नेता जितेन्द्र सोनल समेत मुख्यमन्त्रीमा दावी गरेका थिए ।

तर पार्टीको भागबण्डामा मुख्यमन्त्री पद राजपातर्फ नपरेपछि उनी सरकारमा भौतिक पुर्वाधार तथा विकासमन्त्रालयको जिम्मेवारीमै चित्त बुझाएका थिए । त्यसबेला मुख्यमन्त्रीकालागि राउत, सोनल बाहेक तत्कालीन फोरमका कोषाध्यक्ष विजय यादव मात्र बलियो दाबेदार थिए । तर यसपटक भने उनीहरुसँगै अन्य तीनजना सांसदले संचारमाध्यमबाट दलका नेताकालागि दाबेदारी प्रस्तुत गरिरहेका छन् ।

सांसद मनिष सुमन, उपेन्द्र महतो र रामअशिष यादव समेत दलका नेताकालागि आकांक्षी हुन् । आकांक्षी ६ जनै सांसदहरु समर्थनकालागि सांसदहरुसँग निरन्तर सम्पर्कमा रही आफुतिर तान्ने प्रयासमा छन् ।

तर शिर्ष नेतृत्वबाट अहिलेसम्म यसबारे कुनै आधिकारीक धारणा आइसकेको छैन् ।
अघिल्लो पटक सरकार गठन हुँदा सभामुख पद नपाएपछि रुष्ट बनेका मनिष सुमन समेत यसपाली दलको नेता बन्नुपर्ने दाबी गरिरहेका छन् ।

मुख्यमन्त्री राउत नेतृत्वको सरकार प्रदेशको विकास, समृद्धि र सुशासन स्थापना गर्न नसकेको आरोप लगाउँदै उनले मधेस आन्दोलनको मर्म र जनआकांक्षा सम्बोधनकालागि आफु दलको नेता चुनिएर मुख्यमन्त्री बन्नुपर्ने टुडेपाटीलाई बताए ।

उनी सरकार विरुद्ध सुरुदेखि नै आक्रम देखिन्छन् । यद्दपी दलको नेताको निर्वाचन भए संख्यात्मक हिसाबले उनी कमजोर देखिन्छन् ।
यस्तै अर्का सांसद उपेन्द्र महतो मुख्यमन्त्री ‘भिजनलेस’ र ‘हार्मलेस’ रहेको बताउँदै अबको प्रदेश सकारको नेतृत्व युवा पुस्तालाई सुम्पिुपर्ने उनको तर्क छ ।

राउत नेतृत्वको सरकारले जनभावना अनुरुप काम गर्न नसकेको भन्दै सदनसँगै सार्वजनिक रुपमै सरकारको कडा आलोचना गर्ने उनी यसपटक आफु दलको नेता हुनुपर्ने भन्दै शिर्ष नेतृत्वकासाथै सांसदहरुलाई मनाउने प्रयासमा जुटेका छन् ।

उनका अनुसार पुर्व राजपाका १४ जना सांसदका साथै पुर्व फोरमबाट समेत करिब आधा दर्जन बढी सांसदकोे समर्थन छ । अढाई वर्षको बाँकी नेतृत्व आफुले गरे प्रदेशलाई विकास तथा समृद्धिको दिसा दिने तर्क दिएका उनी अगामी निर्वाचनमा पार्टीको साख जोगाउन आफु दलका नेता चुनिएर मुख्यमन्त्री बन्नुपर्ने बताउँदै आएका छन् ।

पत्रकार, स्वच्छता अभियानी हुँदै राजनीतिमा लागेका रामअशिष यादव उपेन्द्र यादव समेत दलका नेताकालागि आकंक्षी छन् । उनीले स्पष्ट रुपमा दाबेदारी प्रस्तुत नगरेपनि आफ्ना निकट सांसदहरुले दलका नेता बन्न दबाब दिइरहेको बताउँदै आइरहेका छन् ।

आन्दोलनको मर्म र पार्टीको घोषणापत्र अनुहार काम नगरेको र व्यापक भ्रष्टार गरेको आरोप खेपिरहेकाले स्वच्छ छविका नयाँ अनुहारलाई सरकारमा सहभागी गराउनु पर्ने सरकार विरोधी सांसदहरुले माग गर्दै आएका छन् ।

अथक प्रयासका बाबजुद पार्टीको भागण्डामा नपरेर मुख्यमन्त्री बन्न नसकी मन्त्री पदमै चित्त बुझाएका सोनल यसपटक जसरी पनि दलको नेता चुनिएर मुख्यमन्त्री बन्ने दाउमा छन् ।

पूर्व फोरमबाट मुख्यमन्त्री राउतले अढाई वर्ष नेतृत्व गरेर असफल सावित भइसकेकाले यसपटक उनी नै दलको नेता चुनिएर मुख्यमन्त्री बन्नुपर्ने सोनल निकट सांसदको तर्क छ । उनी निकटका अनुसार सोनलको स्वच्छ छवि, योगदान, वरिष्ठता दलको नेता बन्नुपर्ने आधार हुन् ।

उनी पार्टी अध्यक्ष महन्थ ठाकुरको अत्यन्त निकट र विश्वासपात्र हुन् । तर, पार्टी अध्यक्ष उपेन्द्र यादव प्रदेश २ सरकारको नेतृत्व जसरी पनि आफु निकटलाई दिने जानकार बताउँछन् । उनी निकट दलका नेताको दौडमा आर्थिक मामिला तथा योजनामन्त्री विजय यादव रहेका छन् ।

अढाई वर्षको अवधिमा पटक पटक विवादमा तानिएका मन्त्री यादवको जनस्तरमा राम्रो छवि नभएकाले नेतृत्वपंक्ति अगामी निर्वाचनमा पार्टीलाई क्षति नहुनेलाई दलको नेता बनाउने राजनीतिक वृतमा चर्चा छ । उनी अघिल्लो पटक समेत मुख्यमन्त्री बन्न सारा शक्ति खर्चिएका थिए ।

दलका नेताकालागि लालबाबु राउत, जितेन्द्र सोनल र विजय यादव बाहेका सांसदहरुले मन्त्री पदको बार्गेनिङका लागि दाबेदारी प्रस्तुत गरेको एकथरी बुझाई छ ।

मुख्यमन्त्री राउतले मधेस आन्दोलनको मर्म र जनभावना अनुरुप काम गर्न नसकेकाले सरकारका साथै पार्टीको समेत व्यापक आलोचना भइरहेको भन्दै भन्दै सरकारको नेतृत्व र अनुहार परिवर्तनको मागसहित जसपाको केन्द्रीय कार्यकारिणी समितीको बैठक बस्नुअघि करिब डेढ दर्जन सांसदले शीर्ष नेतृत्वलाई ज्ञापनपत्र समेत बुझाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *