सिरहा र गोलबजार दुई साताका लागि लकडाउन
नितेश यादव-
जनकपुरधाम, साउन ३२ गते ।
कोरोना भाइरसको संक्रमण समुदायस्तरमा फैलिसकेको हुँदा सिरहा नगरपालिकाले थप १५ दिन लकडाउन गर्ने निर्णय गरेको छ । कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रणका लागि डी–सीसीएमसीको निर्णय अनुसार लकडाउनको अवधि थपिएको हो ।
यसअघि साउन २५ गतेको कार्यपालिका बैठक अनुसार साउन २५ गते राति १२ बजेदेखि लगाइएको लकडाउन आइतबार राति १२ बजे सकिन लाग्दा लकडाउनको अवधि भदौ १५ गते राति १२ बजे सम्मका लागि थप गरिएको सिरहा नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत बलराम यादवले जानकारी दिए ।
उनका अनुसार नगरभित्र अति आवश्यक औषधि पसल, ढुवानी सेवा, एम्बुलेन्स तथा अत्यावश्यक इमर्जेन्सी गाडी चल्ने गरि लकडाउन गरिएको छ । त्यस्तै खाद्यान्न, किराना तथा तरकारी ठेल्ला रिक्सा बिहान ६ बजे देखि ९ बजे सम्म मात्र खुल्ने गरी निर्णय गरिएको यादवले बताए । साथै दुध तथा खानेपनीको गाडी समेत चल्ने छ ।
त्यसैगरी सिरहाको गोलबजार नगरपालिकामा पनि दुई साताका लागि लकडाउन घोषणा गर्ने निर्णय गरिएको छ । जिल्ला स्तरीय डी–सीसीएमसी र नगर स्तरीय सीसीएमसीको आइतबारको निर्णय बमोजिम आज राति १२ बजे देखि लागू हुने गरी लकडाउन गर्ने निर्णय गरिएको हो ।
गोलबजार नगरपालिकामा साउन ३२ गते राति १२ बजे देखि भदौ १५ गते सम्मका लागि लकडाउन घोषणा गरेको नगर प्रमुख देवनाथ साहले जानकारी दिए । नगरपालिकामा बन्दाबन्दीको अवधिभर सरकारको मापडदण्ड अपनाई बैंक तथा बित्तीय संस्थाहरु बिहान १० बजेदेखि दिउँसो १ बजे सम्म मात्र खुल्ने साहले बताए ।
Sponsored