वीरगञ्जमा जारी निषेधाज्ञालाई थप कडाई गर्न सेना परिचालन
टुडेपाटी-
वीरगञ्ज, साउन ३२ गते ।
प्रदेश २ को कोरोना हटस्पट बनेको वीरगञ्जमा जारी निषेधाज्ञालाई आजबाट थप कडाई गरिने भएको छ । सडकमा सेना परिचालन गरी निषेधाज्ञालाई थप कडाई गरिएको छ ।
कोरोनाले जनप्रतिनिधि, स्वास्थ्यकर्मी, लगायत सर्वसाधारण संक्रमित हुने क्रम बढीरहदाँ मृत्यु पनि सबै भन्दा बढी पर्सामै भएको छ ।
पर्सामा साउन ३१ गते बिहानसम्म कोरोना संक्रमितको संख्या १२ सय नाघिसकेको छ ।
वीरगन्जमा नारायणी अस्पतालको मातहत दुईवटा अस्थायी कोभिड अस्पताल सञ्चालनमा छन् । गण्डक अस्थायी कोभिड अस्पतालमा ६९ जना उपचाररत छन् । तीमध्ये १० जना आईसीयूमा छन् । वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा १०३ जना संक्रमित भर्ना भएका छन् । तीमध्ये २६ जना आईसीयूमा छन् । नारायणी अस्पतालको आइसोलेसनमा पाँचजनाको उपचार भइरहेको छ ।
यसबाहेक वीरगन्जका होटल, धर्मशाला, विद्यालय, निजी अस्पताललगायतमा सञ्चालित सेमी–आइसोलेसनमा दुई सय ३९ जनाको उपचार भइरहेको छ । ३७४ जना संक्रमित भने होम आइसोलेसनमा छन् । संक्रमितमध्ये ८० प्रतिशत लक्षणसहितका बिरामी छन् । ३६ जना आईसीयूमा छन् । आईसीयूमा राखिएका बिरामीको त्यति धेरै जटिल अवस्था छैन । तर उनीहरूको स्वास्थ्य अवस्था सुधारोन्मुख छ ।
सुरुवाती दिनमा लक्षण नभएका बिरामी मात्र थिए । तर ८० प्रतिशतभन्दा बढीमा लक्षण देखिने गरेको छ । त्यसकारण पछिल्लो समय यो भाइरसले आफ्नो स्वरूप परिवर्तन गरेको हो कि अथवा अलि कडा खालको भाइरस आएको हो कि भन्ने आंशंका छ । मृत्युको कारण कोरोना मात्र नभई अन्य दीर्घरोगले पनि भएको छ ।
Sponsored