बारामा एकैदिन ६५ जनामा कोरोना पुष्टि, व्यवस्थापनमा समस्या
टुडेपाटी-
बारा, साउन ३२ गते ।
बारामा एकैदिन ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक साता अघि स्वाब परीक्षणका लागि वीरगञ्जस्थित नारायणी अस्पताल पठाइएकोमा आइतबार रिर्पोट आएको हो ।
आइतबार थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै जितपुर–सिमराका ३६ जना, महागढीमाई नगरपालिकामा १७ जना करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरका २ जना रहेका छन् ।
कोरोना पुष्टि भएका १२ देखि ६५ वर्ष उमेर समुहका छन् ।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले कोरोना संक्रमण पुष्टि भएकाहरुको व्यवस्थापन जटिल बन्दै गएको जानकारी दिए ।
‘हामीले स्थानीयय तहलाई जिम्मेवारी दिएका छौं,’ उनले भने, ‘अब उहाँहरु आफैंले संक्रमितहरुको व्यवस्थापन जिम्मेवारी लिनुपर्छ ।’ यसअघि साउन २७ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले बाराको १६ ओटा स्थानीय तहमध्ये उपमहानगरले ४ हजार, नगरपालिकाले २ हजार र गाउँपालिकाले १ हजार थान भिटिएम खरिद गर्ने, स्थानीय तहले आफ्नै आइसोलेशन निमार्ण गर्ने र जितपुर–सिमरा, कलैया र महागढीमाई नगरपालिकाको संयुक्त लगानीमा पिसिआर मेसिन खरिद गर्ने निर्णय भएको थियो ।
Sponsored
साउन २७ गते भएको त्यो निर्णय कार्यन्वयन गर्न स्थानीय तहहरुले आलटाल गरेको भन्दै प्रजिअ पण्डितले संक्रमितलाई व्यवस्थापनमा जटिल समस्या देखिएको बताए ।