धनुषा जिल्ला अदालत प्रदेश २ मै उत्कृष्ट
टुडेपाटी समाचारदाता
जनकपुरधाम, फाुगन ७ गते ।
मुद्दा फर्छ्यौटमा धनुषा जिल्ला अदालत प्रदेश २ कै उत्कृष्ट देखिएको छ । जिल्ला अदालत धनुषा प्रदेशकै उत्कृष्ट रहेको जानकारी दिएको हो ।
जिल्ला अदालतको प्रतिवेदन अनुसार लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गर्न सफल भएको छ । मुद्दा फर्छ्यौटको आधारमा धनुषा जिल्ला अदालत प्रदेशकै उत्कृष्ट रहेको प्रशासन फाँटका शाखा अधिकृत जयप्रसाद काफ्लेले बताए । धनुषा जिल्ला अदालतले विगत केहि वर्ष देखि फास्ट ट्रयाकमा मुद्दा फर्छयौँट हुन थालेपछि सेवाग्राहीको दौडधुप पहिलेभन्दा कम हुन थालेको उनले बताए ।
दिनहुँ दर्जनभन्दा बढी विभिन्न किसिमका मुद्दा दर्ता हुने गरेपनि अहिले केहि महिना देखि अदालतले मुद्दा फर्छ्यौटका लागि विशेष लक्ष्य अनुसार वर्गिकरण गरी कार्य थाल्दा प्रगति हुन थालेको धनुषा जिल्ला अदालत प्रशासन फाँटका शाखा अधिकृत काफ्लेले जानकारी दिए ।
गत वर्ष अदालतमा ३ हजार ६ सय ९६ वटा विभिन्न प्रकृतिका मुद्दा फर्छ्यौट हुन बाँकी र चालु वर्षमा २ हजार २ सय ४४ वटा मुद्दा गरी जम्मा ५ हजार ९ सय ४० मुद्दाको चांग रहेको थियो । जसमध्ये २ हजार ५ सय ३३ वटा मुद्दा फर्छयौट भएको छ भने ३ हजार ४ सय ७ वटा मुद्दा अहिले पनि फर्छ्यौट हुन बाँकी रहेको छ ।
तर अदालतमा न्यायधीशहरुले विशेष लक्ष्य हासिल गर्न र मुद्दाका चापलाई कम गनर्सका साथै विभिन्न प्रकृतिका मुद्दाहरुको चांग हटाउनका लागि फास्ट ट्याक अनुसार कार्य थाल्दा लामो समय देखि रहेका विभिन्न प्रकृतिका मुद्दाहरु फर्छ्यौट भइरहेको शाखा अधिकृत काफ्लेले बताए ।
उनले शुरु मुद्दा, पुनरावेदन र रिटको लगत फर्छ्यौट र पुस महिनासम्मको मासिक प्रतिवेदन अनुसार ४२ दशमलव ६४ प्रतिशत मुद्दाहरु फर्छ्यौट भइसकेको बताए ।
Sponsored
अदालतमा व्यक्तिवादी देवानी मुद्दा २ हजार ४ सय ७९ मध्ये १ हजार ७ सय १२ वटा मुद्दा फर्छ्यौट, व्यक्तिवादी फौजदारी मुद्दा ५ सय ५७ मध्ये ३ सय २२ मुद्दा फर्छ्यौट, सरकारवादी फौजदारी मुद्दा ५ सय ९४ मध्ये ४ सय ९१ मुद्दा फर्छयौँट भएको छ । त्यस्तै पुनरावेदकीय क्षेत्राधिकार अन्तर्गतका व्यक्तिवादी देवानी मुद्दा १८ वटामध्ये एउटा मुद्दा फर्छ्यौट भएको छ । त्यसैगरी सरकारवादी फौजदारी अन्तर्गत १६ वटा मुद्दा मध्ये एउटा मुद्दा फर्छ्यौट भएको छ ।
मुख्यन्यायधीश राजुकुमार खतिवडाको ईजलासमा ७ सय २१ मध्ये ३ सय ६१ मुद्दा फर्छ्यौट भएको छ भने ३ सय ६० वटा मुद्दा फर्छ्यौट हुन बाकी रहेको छ । त्यस्तै न्यायधीश धु्रवप्रसाद सापकोटाको ईजलासमा ७ सय २७ मुद्दा लगत मध्ये २ सय ६४ मुद्दा फर्छयौँट भएको छ भने ४ सय ६३ वटा मुद्दा फर्छ्यौट हुन बाकी छ ।
त्यस्तै न्यायधीश तेजनारायण पौडेलको ईजलासमा ७ सय ४३ वटा लगत मध्ये ३ सय १८ वटा फर्छ्यौट भएको छ भने ४ सय २५ फर्छ्यौट हुन बाँकी छ । त्यस्तै न्यायधीश उपेन्द्र प्रसा गौतमको ईजलासमा ६ सय ९५ लगत मध्ये २ सय ६४ मुद्दा फर्छ्यौट भएको छ भने ४ सय ३१ वटा बाकी रहेको छ । त्यस्तै न्यायधीश तीर्थराज केसीको ईजलासमा ७ सय ९४ लगत मध्ये ३ सय ५० वटा मुद्दा फर्छ्यौट भएको छ भने ४ सय ४४ वटा मुद्दा बाकी रहेको छ ।
त्यस्तै न्यायधीश केशवप्रसाद घिमिरेको ईजलासमा ७ सय ५६ वटा मुद्दा मध्ये ३ सय २९ वटा मुद्दा फर्छ्यौट भएको छ भने ४ सय २७ वटा मुद्दा फर्छ्यौट हुन बाँकी रहेको छ । त्यस्तै न्यायधीश राजेशकुमार खतिवडाको ईजलासमा ७ सय ४७ लगत मध्ये ३ सय २९ फर्छ्यौट भएको छ भने ४ सय ३९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छ । त्यस्तै न्यायधीश विनोद खतिवडाको ईजलासमा ७ सय ५७ वटा मुद्दा लगत मध्ये ३ सय १८ मुद्दा फर्छ्यौट भएको छ भने ४ सय ३९ वटा मुद्दा फर्छ्यौट हुन बाकी रहेको दायरी फाँटका नायब सुब्बा बद्रीनारायण ठाकुरले जानकारी दिए ।
जिल्ला अदालतको प्रगती विवरणका अनुसार सबैभन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका रहेका छन् । नायब सुब्बा ठाकुरले प्रत्येक दिन कम्तिमा दुईवटा सम्बन्ध विच्छेदका मुद्दाहरु धनुषा जिल्ला अदालतमा आउने गरेको जानकारी दिए । तर यो संख्या तुलनात्मक रुपमा पहाडी जिल्लाको तुलनामा मधेशका जिल्लाहरुमा कम रहेको उनले स्वीकार गरे ।