TodayPati

प्रदेश २ मा कोरोनाबाट ४३ जनाको मृत्यु, यी हुन् मृतकहरु

नितेश यादव–
जनकपुरधाम, साउन ३१ गते ।

कोरोना महामारीको उच्च जोखिममा रहेको प्रदेश २ मा हालसम्म ४३ जनाको संक्रमणबाट मृत्यु भएको छ । प्रदेश २ का पर्सा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

सामाजिक विकास मन्त्रलायका शनिबारको तथ्यांकअनुसार पर्सामा सबैभन्दा बढी २० जना व्यक्तिको मृत्यु भएको छ ।

Sponsored

त्यस्तै सप्तरीमा ३ जना, सिरहामा २ जना, धनुषामा ७ जना, महोत्तरीमा २ जना, रौतहटमा २ जना, सर्लाहीमा १ जना र बारामा ६ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको प्रदेश २ स्वाथ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।

प्रदेश २ मा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाएका यी हुन् ४३ जना व्यक्तिहरु

१) जेठ १२–वीरगन्ज, वर्ष ७०, पुरुष

Sponsored

बाराको करैयामाई गाउँपालिका–७ का ७० वर्षीय वृद्धको वीरगन्जको नेशनल मेडिकल कलेजमा मृत्यु भएको थियो । उनलाई मिर्गौलामा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

उनको मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।

२) जेठ ३०–वीरगन्ज, वर्ष २५, पुरुष

वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका २५ वर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको थियो ।

३) जेठ ३१–बारा, वर्ष ५, बालक

बाराको निजगढका ५ वर्षीय बालकको वीरगन्जस्थित सिटिजन हेल्थ केयरमा उपचार क्रममा मृत्यु भएको थियो । मृत्युपश्चात कोरोनाको आशंकामा उनको स्वाब परीक्षण गरिएको थियो ।

बालकलाई निमोनियाको समस्या देखिएपछि परिवारले सुरूमा निजगढस्थित सामुदायिक अस्पताल लगेका थिए । पछि अवस्था जटिल भएपछि अस्पतालले वीरगन्ज रिफर गरिदिएको थियो । अस्पतालमा भर्ना भएका उनलाई पछि स्वासप्रस्वासमा पनि समस्या देखिएपछि भेन्टिलेटरमा सारिएको थियो । तर सोही क्रममा बालकको मृत्यु भएको हो ।

४) असार ३१– रौतहट, वर्ष ३६, पुरुष

रौतहट परूवा नगरपालिका ७ निवासी ३६ वर्षीय पुरूषको कोरोनाका कारण मृत्यु भएको थियो । उनी असार २९ गते वीरगन्जस्थित नारायणी अस्पतालको आइसियूमा भर्ना भएका थिए ।

स्वास्थ्य अवस्था बिग्रिएपछि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएका उनी भारतमा रहेका आफ्ना दाइको अन्तिम संस्कार गर्न बैंगलुरू गएर आएका थिए । नेपाल फर्की उनी रौटहटको परूवा नगरपालिकाको क्वारेन्टिनमा बसेका थिए ।

५) साउन २– राजविराज, वर्ष ७३, पुरुष

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत सप्तरी राजविराजका ७३ वर्षीय वृद्धको अस्पतालमा मृत्यु भएको थियो । मुटुका बिरामी समेत रहेका उनलाई भर्ना गर्दा ज्वरो र खोकी पनि देखिएको थियो । त्यसपछि अस्पतालले आकस्मिक कक्षबाट उनलाई आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

६) साउन ७– महोत्तरी, वर्ष ६४, पुरुष

कोरोनाको संक्रमणबाट महोत्तरीको महोत्तरी गाउँपालिकाका ६४ वर्षीय पुरुषको धरानस्थित विपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको थियो। क्यान्सरका रोगी उनी चौथो स्टेजमा थिए । मृतक आफ्नो छोरीको घर भारत गएर फर्केका थिए ।

७) साउन ८– वीरगन्ज, वर्ष ७०, पुरुष

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् वीरगन्ज निवासी ७० वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई स्वासप्रस्वासमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा उनको मृत्यु भयो । मृतकलाई सुरूमा स्वासप्रस्वासमा समस्या देखिएपछि एड्भान्स अस्पताल भर्ना गरिएको थियो । अस्पतालले कोरोना आशंकामा उनलाई गण्डक अस्पताल रिफर गरेको थियो ।

८) साउन २८ मोरङ, वर्ष ७७, पुरुष

बाराको कलैया घर भएका ७७ वर्षीय पुरूषलाई त्रिवि शिक्षण अस्पतालले ललितपुरको किस्ट अस्पताल रिफर गरेको थियो । मृतकको आइसियुमा उपचारका क्रममा मृत्यु भएको थियो । उनको खुट्टा भाँचिएको, चक्कर लाग्ने समस्याले अस्पताल गएको थिए । साथै उनमा मुटुको रोग पनि थियो ।

९) साउन ९– वीरगन्ज, वर्ष ८५, महिला

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत ८५ वर्षीया वृद्धाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । मुटु रोगी समेत रहेकी उनको आइसियूमा उपचारको क्रममा मृत्यु भएको हो । उनमा निमोनियाको समेत समस्या देखिएको थियो ।

बिहीबार मात्र गण्डक अस्पतालमै मृत्यु भएका एक वृद्धको पछि कोरोना पुष्टि भएको थियो ।

१०) साउन ९– वीरगन्ज, वर्ष १७, महिला

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको थियो। बारा परवानिपुर वडा नम्बर ८ निवासी युवतीलाई सुरूमा वीरगन्जस्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उनमा पखला, श्वासप्रश्वासका समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । पछि कोरोना पुष्टि भएर उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो ।

११) साउन ११– वीरगन्ज, वर्ष ६५, पुरुष

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय भारतीय नागरिकको मृत्युपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । वीरगन्जमा पसल गर्दै आएका उनी ज्वरो र खोकीले थलिएका थिए । सुरूमा उनलाई नारायणी अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । पछि त्यहाँबाट कोरोना परीक्षणको लागि स्वाब दिएर उनलाई वीरगन्ज हेल्थ केयरमा लगिएको थियो । त्यहाँ आरडिटी परीक्षण गर्दा कोरोनाको एन्टिबडी पोजेटिभ देखिएपछि गण्डक अस्पताल ल्याइएको थियो ।

उनलाई श्वासप्रश्वासमा समस्या देखिएको थियो। भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भयो। मृतक मुटु र मधुमेहका रोगी थिए ।

यति बेलासम्म नेपालमा कोरोनाबाट विदेशी नागरिको मृत्यु भएको यो दोस्रो घटना थियो । यसअघि टिचिङ अस्पतालमा चिनियाँ महिलाको मृत्यु भएको थियो ।

१२) साउन १२– धनुषा, वर्ष ३८, पुरुष

धनुषाको शहिदनगर नगरपालिका डुमरीयाका ३८ वर्षीय पुरुषको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारपछि विपी कोइराला विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बाटोमै मृत्यु भएको थियो। उनलाई करिब एक हप्तादेखि कोरोनाको लक्षण देखिएको थियो ।

संक्रमित उनमा कुनै प्रकारको दीर्घ रोग देखिएको थिएन ।

१३) साउन १४– पर्सा, वर्ष ७०, पुरुष

वीरगन्जस्थित नेसनल मेडिकल कलेजमा उपचाररत् ७० वर्षीय पुरूषलाई पखालाको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनी मिर्गौलाका रोगी समेत थिए ।

१४) साउन १४– पर्सा, वर्ष ६५, पुरुष

गण्डक अस्पतालमा उपचाररत ६५ वर्षीय पुरूषको कोरोनाले मृत्यु भएको थियो । उनमा मुटुको समस्या थियो । साउन ८ गते नै अस्पताल भर्ना भएका उनको त्यही क्रममा कोरोना पुष्टि भयो ।

१५ साउन १६– वीरगन्ज, वर्ष ६५, पुरुष
वीरगन्जस्थित जगदम्बा इन्टरप्राइजेजका सिइओ ६५ वर्षीय मृतक भारतीय नागरिक थिए । साउन ७ गते संक्रमण पुष्टि भएपछि उनी अस्पताल भर्ना भएका थिए । अक्सिजन कमी भएपछि उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिँदै थियो । सोही क्रममा उनको मृत्यु भएको हो ।

१६) साउन १६– वीरगन्ज, वर्ष ३५, पुरुष

वीरगन्जका ३५ वर्षीय पुरुषलाई केही दिनदेखि ज्वरोको समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । उनको गण्डक अस्पतालमै उपचारको क्रममा मृत्यु भएको हो ।

१७) साउन १६– वीरगन्ज, वर्ष ७५, पुरुष

वीरगन्जका ७५ वर्षीय वृद्धको घरमै मृत्यु भएको थियो । पछि स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
१८ साउन १७– वीरगन्ज, वर्ष ५०, महिला

वीरगन्ज–१६ निवासी ५० वर्षीया महिलाको वीरगन्जस्थित बयोधा अस्पतालमा मृत्यु भएको थियो । पछि पिसिआर नतिजा आउँदा उनमा संक्रमण पोजेटिभ देखिएको हो । उनलाई निमोनियाको समस्या थियो ।

१९) साउन १७– वीरगन्ज, वर्ष ६८, महिला

निमोनियाको समस्या भएकी वीरगन्ज–१६ निवासी ६८ वर्षीया महिलाको मृत्युपछि कोरोना पुष्टि भएको थियो ।

२०) साउन २१– पर्सा, वर्ष १८, महिला

पर्सा पोखरियाकी १८ वर्षीया किशोरीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई पोखरिया अस्पतालबाट नेसनल मेडिकल कलेज रिफर गरिएको थियो । उनमा वान्ताको समस्या भएपछि पोखरिया अस्पतालले नेसनलमा रिफर गरेको थियो । नेसनल अस्पतालले उनलाई ल्याउँदा ल्याउँदै मृत्यु भएको घोषणा गरेको थियो ।

उनमा पहिले कुनै पनि रोग नभएको बताइएको छ ।

२१) साउन २१– वीरगन्ज, वर्ष ४६, पुरूष

वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचाररत् ४६ वर्षीय पुरुष वीरगञ्ज–१५ निवासी थिए । उनलाई ज्वरो र खोकीको समस्या देखिएको थियो । त्यसपछि परीक्षण गराउँदा उनलाई कोरोना पोजेटिभ देखियो । लगत्तै उनी वीरगञ्ज हेल्थ केयरमा भर्ना भएका थिए । अस्पतालमै उनको मृत्यु भयो ।

२२) साउन २१– सर्लाही, वर्ष ६५, महिला

बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा सर्लाही मलंगवा नगरपालिका–६ की ६५ वर्षीया वृद्धाको मृत्यु भएको थियो । मृतकलाई ज्वरो आएपछि स्थानीय अस्पतालमा उपचार गराएका थिए । तर स्वास्थ्य समस्या बिग्रिएपछि उनलाई स्वयम्भूस्थित मनमोहन अस्पताल भर्ना गरिएको थियो ।

मनमोहनमा उनलाई भेन्टिलेटरमा राखिएको थियो। उनमा संक्रमण देखिएपछि बलम्बुस्थित एपिएफ अस्पतालमा रिफर गरिएको थियो । उनलाई त्यहाँ पनि भेन्टिलेटरमै राखेर उपचार गरिएको थियो ।

२३) साउन २१– पर्सा, वर्ष ४६, पुरुष

पर्सामा साउन २१ गते ४६ वर्षीय पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

२४) साउन २२– सप्तरी, वर्ष ४५, पुरुष

मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका सप्तरीको रूपनी गाउँपलिका– ५ का ४५ वर्षीय पुरूषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मृत्यु हुनुभन्दा ४५ दिन पहिले मलेसियाबाट आएर होम क्वारेन्टाइनमा बसेका थिए । एक्कासि ज्वरो आएर श्वास फेर्न गाह्रो भएपछि उपचारका लागि उनलाई राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल ल्याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल रिफर गरिएको थियो । धरान लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको थियो ।

२५) साउन २२– वीरगन्ज, वर्ष ४५, पुरुष

वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत् ६५ वर्षीय पुरूषको मृत्युपछि कोरोना पुष्टि भएको थियो । ज्वरो र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई अस्तपाल भर्ना गरिएको थियो । सुरूमा आकस्मिक कक्षमा उपचार गरिए पनि पछि उनलाई अक्सिजनको कमी भएपछि भेन्टिलेटरमा राखिएको थियो। मृतक मुटु र मधुमेहका बिरामी समेत थिए ।

उनी वीरगन्ज बजारमै पसल गर्दै आएका थिए ।

२६) साउन २२– काठमाडौं, वर्ष ७२, महिला

काठमाडौंस्थित ओम अस्पतालमा मृत्यु भएकी ७२ वर्षीया धनुषाकी महिलामा मृत्युपछि कोरोना पुष्टि भएको हो । धनुषाकी उनलाई पाँच दिनअघि स्वासप्रश्वासको समस्या आएपछि ओम अस्पताल भर्ना गरिएको थियो । मृतकमा दम र उच्च रक्तचापको समस्या पनि थियो । उनलाई सुरूमै आइसियूमा राखेर उपचार गरिएको थियो ।

२७) साउन २३– सिरहा, वर्ष २५, पुरुष

सिराहाको गोलबजारका २५ वर्षीय पुरुषको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डायलासिस गर्दागर्दै मृत्यु भएको थियो । उनी दुई वर्षदेखि किड्नीको डायलासिस गर्दै आएका थिए । अस्पताल ल्याउनेबित्तिकै उनको डायलासिस क्रममा उनको मृत्यु भयो । उनमा कोरोना पोजेटिभ देखिएपछि जनकपुर अस्पतालले डायलासिस नहुने भन्दै धरान रिफर गरिदिएको थियो ।

२८) साउन २३– पर्सा, वर्ष ४५, पुरुष

पाटन अस्पतालमा उपचाररत ४५ वर्षीय पुरुषको कोरोनाका कारण मृत्यु भएको थियो । वीरगन्ज निवासी उनलाई स्टार अस्पतालबाट रिफर गरिएको थियो । मृतक पुरूषमा मधुमेह र रक्तचापको समस्या थियो । स्टार अस्पतालमै हुँदा उनलाई कोरोना पोजेटिभ देखिएको थियो । त्यसपछि अस्पतालले त्यहाँबाट पाटन रिफर गरेको थियो ।

२९) साउन २३– वीरगन्ज, वर्ष ७४, पुरुष

वीरगन्जस्थित नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचाररत् ७४ वर्षीय वृद्धको मृत्युपछि कोरोना पुष्टि भएको थियो।वीरगन्ज छपकैया निवासी उनको मृत्युपछि कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भयो । मृतकलाई वीरगन्जकै एड्भान्स अस्पतालबाट रिफर गरिएको थियो। उनी दम, मधुमेहका रोगी थिए ।

केही दिनदेखि ज्वरो र सास फेर्न समस्या देखिएपछि उनी एड्भान्समा भर्ना भएका थिए ।

३०) साउन २५– वीरगन्ज, वर्ष २०, महिला

वीरगन्जमा २० वर्षीया युवतीमा मृत्युपछि कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासको समस्या देखिएपछि उनलाई कोरोना अस्पताल गण्डक लगिएको थियो । अस्पताल पुग्नेबित्तिकै उनको मृत्यु भएको घोषणा गरिएको थियो । उनलाई परिवारले सुरूमा अन्य अस्पताल पनि लगेका थिए । तर कुनै पनि अस्पतालले भर्ना गर्न नमानेपछि उनलाई गण्डक पु¥याइएको थियो ।

३१) साउन २६– वीरगन्ज, वर्ष ४५, महिला

वीरगन्ज–१५ निवासी ४५ वर्षीया महिलालाई श्वासप्रश्वासमा समस्या देखिएपछि कोरोना अस्पताल गण्डकमा भर्ना गरिएको थियो। उनको भेन्टिलेटरमा उपचार गर्ने क्रममा मृत्यु भएको थियो । उनलाई पहिलादेखि नै थाइरायडको समस्या पनि थियो । कोरोना पुष्टि भने उनको मृत्युपछि नै भयो ।

३२) साउन २६– धनुषा, वर्ष ४५, पुरुष

धनुषाको मिथिला विहारी नगरपालिका वडा नम्बर ५ का ४५ वर्षीय पुरूष पाँच दिनदेखि रुघाखोकी, टाउको दुख्ने लगायतका समस्याले ग्रस्त थिए । उनको मृत्युपश्चात् कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियो । उनी विगत पाँच महिनादेखि विनयतारा फाउण्डेसनमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आएका थिए ।

३३) साउन २७– धनुषा, वर्ष ६०, पुरुष

धनुषाको विदेह नगरपालिका–८ निवासी ६० वर्षीय पुरुषको कोरोनाको संक्रमणबाट मृत्यु भएको थियो । जनकपुरधामस्थित प्रादेशिक अस्पतालको कोभिड १९ विशेष अस्पतालमा करिब २० दिनदेखि आइसीयुमा उपचाररत उनको कोरोनाको कारण मृत्यु भएको हो ।

३४) साउन २७– धनुषा, वर्ष ५०, पुरुष

अछामको चौरपाटीका ५० वर्षीय पुरूषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारका क्रममा साउन २५ गते नै मृत्यु भएको थियो । मृत्यु हुनुभन्दा पहिले नै उनको स्वाब संकलन गरे पनि मृत्युपछि मात्र कोरोना पुष्टि भएको थियो ।

साउन २० गते शिक्षण अस्पताल कोहलपुर गरिएका ती व्यक्ति हेपाटाइटिस ‘बी’ रोगबाट ग्रसित र पछि उनको कडा खालको निमोनियाले गर्दा मृत्यु भएको थियो ।

३५) साउन २८– सप्तरी, वर्ष ७२, पुरुष

सप्तरीको राजविराज नगरपालिका वडा नं. ६ का ७२ वर्षीय पुरुषको कोरोना संक्रमण बाट मृत्यु भएको थियो । करिब १० दिनदेखि रुघाखोकी तथा ज्वरो लागेका पुरुषको कोरोना परिक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि उपचारका लागि ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । मृतक थाइराइड तथा मुटु सम्बन्धित रोगी थिए ।
३६ साउन २९– महोत्तरी, वर्ष ४५, पुरुष

महोत्तरीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा कोरोनाका कारण मृत्यु भएको थियो ।

३७) साउन २९– धनुषा, वर्ष ८५, महिला

धनुषाकी ८५ वर्षीया वृद्धाको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाका कारण मृत्यु भएको थियो ।
विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमित ८५ वर्षीया महिलाको मृत्यु भएको थियो । ज्वरो र रूघाले च्यापेपछि उपचारका लागि आएकी धनुषाकी महिलाको उपचारकै क्रममा मृत्यु भयो ।

३८) साउन २९– सर्लाही, वर्ष ६५, महिला

सर्लाहीमा वर्ष ६५ की एक महिलाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको हो ।

३९) साउन ३०–विराटनगर, वर्ष ४०, पुरुष

सिरहा बिष्णुपुर गाउँपालिकाका ४० वर्षीय पुरुषको विराटनगर, कोशी अस्पतालको आइसोलेसनमा उपचार क्रममा मृत्यु भएको थियो अस्पताल आउँदा नै उनको स्वास्थ्य बिग्रिसकेको थियो । उनलाई निमोनियाको समस्या थियो ।
४०) साउन ३०– पर्सा, वर्ष ५०, पुरुष

बाराको जितपुर सिमरा उपमहानगरपालिका ४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुषमा पनि मृत्युपछि कोरोना पुष्टि भएको हो । मधुमेह र रक्तचापका रोगी उनको नारायणी अस्पतालमा मृत्यु भएको हो ।
४१) साउन ३०– पर्सा, वर्ष ६५, पुरुष

प्रसौनी गाउँपालिका–२ प्रसौनी टोल बस्ने ६५ वर्षीय पुरुषको कोरोनाका कारण नारायणी अस्पतालमा मृत्यु भएको छ । उनी दमका बिरामी थिए । उपचार क्रममा मृत्यु भएका उनको मृत्युपछि कोरोना पुष्टि भएको हो ।

४२) साउन ३० धनुषा, वर्ष ५०, पुरुष
धनुषाको जनकनन्दनी गाउँपालिका ४ का एक ५० वर्षीय पुरुषको बिहिबार कोरोना संक्रमण पुष्टि भएपछि उनलाई जनकपुरधामबाट काठमाडौँ रिफर गर्दा बाटोमै मृत्यु भएको हो ।

४३) साउन ३१ पर्सा, वर्ष ६०, पुरुष

पर्साको वीरगञ्ज महानगरपालिका १२ का ६० वर्षका पुरुषको शुक्रबार राति ८ बजे कोरोना अस्थायी अस्पताल गण्डकमा मृत्यु भएको छ ।
प्यारालाइसिस, मधुमेहका समेत बिरामी रहेका उनी कोरोना संक्रमण पुष्टि भइ गत साउन २७ गते उपचारको लागि अस्पतालमा भर्ना भएका थिए ।

नितीश यादव

उहाँ टुडेपाटीका समाचारदाता हुनुहुन्छ । facebook भेट्न सक्नु हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *