ज्यानमारा हस्पिटललाई प्रहरीकै साथ : मृतकका परिवारमाथि लाठीचार्ज गर्दै प्रहरीले उठाए लास
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
हस्पिटलको लापरवाहीले मृत्यु भएका बिरामीको शव प्रहरीले लाठीचार्ज गर्दै जवरजस्ती उठाएर लगेका छन् । जनकपुरको नवजीवन हस्पिटलमा बिहीबार साँझ मृत्यु भएका जनकपुरधाम उपमहानगरपालिका १ धर्मवाणटोलकी ३५ वर्षीय रुकमणि देवी सदाको शव प्रहरीले जवरजस्ती उठाएको हो ।
पीत थैलीको अप्रेशन गर्दा आन्दा काटेपछि मृत्यु भएको भन्दै बिरामीका आफन्तजन र स्थानीयले चार सुत्रिय माग राख्दै शव नउठाउने अडानमा थिए । बिहीबार राति पनि मृतकका आफन्त र स्थानीयले प्रदर्शन गर्दा प्रहरीले लाठी चार्ज गरी आधादर्जन बढीलाई घाइते बनाएका थिए । २४ घण्टासम्म परिवारजन र स्थानीयले शव उठाउन नदिएपछि प्रहरीले मुचुल्का विनै शव जवरजस्ती उठाएर पोस्टमार्टमको लागि लगेको हो ।
शुक्रबार साँझ प्रदर्शनमा उत्रेका प्रदर्शनकारीमाथि लाठीचार्ज गर्दै शव उठाएको स्थानीय लभ यादवले जानकारी दिए । लास उठाउन प्रहरीले मृतक परिवारलाई दबाब दिँदै आएका थिए । लाठीचार्जको क्रममा समाचार संकलनमा गएका एकजना पत्रकारमाथि समेत प्रहरीले लाठीचार्ज गरेका छन् । थाहाखबरका पत्रकार सन्तोष यादवमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।
यता धनुषाका डीएसपी मकेन्द्र कुमार मिश्रले २४ घण्टासम्म लास नउठाउँदा गन्हाएर अन्य बिरामीलाई समस्या हुने भएकाले बलपूर्वक उठाएको बताए । उनले शवलाई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र कानुन बमोजिम दोषीमाथि काबराही हुने उनको भनाइ छ ।
एकसाता अघि जनकपुरकै रामजानकी अस्पतालमा फरक समुहको रगत चढाउँदा मृत्यु भएकी महोत्तरी गौशाला नगरपालिका भरतपुरकी २३ वर्षीय महिलाको शव उठाउन पनि प्रहरीले नै पटक पटक दबाब दिएका थिए । लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारबाही गर्नुको साटो प्रहरीले अस्पतालहरुको लठैत जस्तै व्यवहारमा उत्रेको स्थानीयले बताएका छन् ।
Sponsored
सम्बन्धित समाचार–