जनकपुरमा आइसियु अभावमा बिरामी रेफर, बाटोमै मृत्युपछि कोरोना पुष्टि
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
धनुषामा प्रादेशिक अस्पताल जनकपुरबाट रेफर गरिएका एक बिरामीको बाटोमै मृत्यु भएको छ । काठमाडौं रेफर गरिएका धनुषाको जनकनन्दनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको बाटोमै मृत्यु भएको हो ।
मृत्यु पश्चात ती व्यक्तिमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएको हो । श्वासप्रश्वासमा समस्याभएपछि बिहीबार प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएपनि सिकिस्त भएकाले उनलाई आइसियुमा भर्ना गरेर उपचार गर्नुपर्ने थियो । प्रादेशिक अस्पतालमा आइसियु संचालन गर्ने चिकित्सक तथा स्वास्थ्यकर्मी होम क्वारेन्टाइन र आइसोलेशनमा रहेका कारण आइसियु सेवा बन्द भएको छ ।
आइसियुमा राखेर उपचार गर्न काठमाडौं रेफर गर्दा ती पुरुषको मृत्यु भएको हो । मृत्यु पश्चात मृतकको स्वाब संकलन गरी परिक्षण गर्दा शुक्रबार मृतकको रिपोर्ट पोजेटिभ आएको प्रदेश २ स्वास्थ्य निर्देशनालयका बरिष्ट अधिकृत विजय झाले जानकारी दिए ।
यस्तै सिरहाको बिष्णुपुर गाउँपालिका १ का ४० वर्षीय पुरुषको बिहीबार राति बिराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको थियो । उनको पनि आइसियु तथा भेन्टिलेटरमै राखेर उपचार गर्नुपर्ने थियो । तर अभावको कारण आइसोलेशनमै उपचार हुँदा ती व्यक्तिको मृत्यु भएको थियो ।
पछिल्लो समय संक्रमितहरुको संख्या बढ्दे जाँदा सरकारी अस्पतालमा आइसियु र भेन्टिलेटर नहुँदा बाहिर रेफर गरेका बिरामीको बाटोमै ज्यान जाने गरेको छ ।
Sponsored