आगलागी घटनामा कार्यकर्तालाई फसाएको भन्दै महेन्द्रनगरमा काँग्रेसको प्रदर्शन
टुडेपाटी-
जनकपुरधाम, साउन ३० गते ।
धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ स्थित महेन्द्रनगरमा गाईगोठमा भएको आगलागीको घटनामा आफ्नो कार्यकर्तालाई फसाएको भन्दै काँग्रेसले प्रदर्शन गरेको छ ।
गएको साउन २४ गते स्थानीय नेपाल कमयुनिष्ट पार्टी (नेकपा) नेतृ पल्टि देवी यादवको घरमा भएको आगलागीको घटनामा राजनीति प्रतिशोध साध्न काँग्रेस कार्यकर्ता देवु यादव र सुरेश यादवलाई फसाएर प्रहरीले मुद्दा दर्ता गरेको भन्दै उनीहरुले ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको अगाडी प्रदर्शन गरेका हुन् ।
‘गोठमा काम गर्ने सुस्त मनस्थिती भएकी महिलालाई लामखुट्टे धपाउन परालमा आगो बालेकी थिइन् । सबैजना सुतिसकेका थिए। त्यहीँ परालबाट आगो सल्केर प्लास्टिकको छाना भएको घरमा आगो लाग्यो । त्यहीँ क्रममा एउटा गाई, बाछो, एउटा बाछी मर्यो र केही घाइते भए,’ प्रदर्शनमा उत्रेका स्थानीय काँग्रेस नेता राम चन्द्र साहले भने ।
उनका अनुसार पहिलेदेखि गाउँमा भएको विवादका कारण रिसिबी साध्न र राजनीतिक प्रतिशोधले दुबैजनालाई फसाइएको हो ।
Sponsored
नेकपा नेता तथा प्रतिनिधिसभा सांसद रघुवीर महासेठको दबाबमा प्रहरीले दुबैजनामाथि झुठो मुद्दा चलाएको भन्दै मुद्दा फिर्ता नलिए कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।
उक्त घटनामा आफ्नो कार्यकर्ताको संलग्न नरहेको भन्दै कांग्रेसले पक्राउ परेकालाई रिहा गरी सत्यतथ्य छानविन गरी दोषीमाथि कारवाही गर्नुपर्ने प्रहरीसँग माग गरे ।