जनकपुरका ८ जना बैंकका कर्मचारीसहित प्रदेश २ मा १७४ जनामा कोरोना पुष्टि
नितेश यादव-
जनकपुरधाम, साउन २७ गते ।
धनुषामा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा मंगलबार १५ जना पुरुष र तीन जना महिला गरि १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
जनकपुरका २४ वर्षदेखि ४९ वर्षसम्मका ७ जना पुरुषमा कोरोना पुष्टि भएको प्रादेशिक जनस्वास्थ्य प्रशासक विजयकुमार झाले जानकारी दिए । त्यस्तै जनकपुरधामका मुक्तिनाथ विकास बैंक जनकपुर शाखाका ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २२ र ३५ वर्षीया दुई जना महिला र २७ वर्षदेखि ३६ वर्षका ४ जना पुरुष कर्मचारीमा कोरोना संक्रमण भएको झाले बताए ।
नेपाल बैंक जनकपुर शाखाका एक २८ वर्षीय पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय बाणिज्य बैंक जनकपुर शाखाका एक ५० वर्षीय पुरुष कर्मचारीमा कोरोना संक्रमण भएको उनले बताए ।
धनुषाको हंसपुर नगरपालिकाका एक जना, जनकनन्दनी क्वारेन्टाइनका एक १८ वर्षीय किशोर र धमगीका एकजना गरी कुल १८ जनामा कोरोना संक्रमण पुष्टि भएको झाको भनाइ छ ।
त्यस्तै प्रदेश २ मा गएको २४ घण्टामा १७४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । प्रदेश २ का विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएको हो ।
प्रदेश २ का आठै जिल्लाका ३८ जना महिला र १३८ जना पुरुष गरी कूल १७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनस्वास्थ्य प्रशासक विजयकुमार झाले बताए ।
सबैभन्दा बढी पर्सामा ६५ जना र सबैभन्दा कम सप्तरीमा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Sponsored
त्यस्तै धनुषामा १८ जना, महोत्तरीमा १० जना, सिरहामा ९ जना, सर्लाहीमा २१ जना, रौतहटमा ४० जना र बारामा ७ जनामा संक्रमित थपिएका हुन् ।
योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ६ हजार ६८ पुगेको छ । प्रदेश २ को धनुषामा साेमबार राति एकजना ६० वर्षीय संक्रमितको उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा मृत्यु भएको छ । ती संक्रमितसंगै यस प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ ।