TodayPati

महोत्तरीमा तरकारीबजार बन्द गराउन गएका प्रहरी र व्यापारीबीच झडप

रञ्जन भण्डारी-
महोत्तरी, साउन २७ गते ।

सोमबार साँझ तरकारी बजार बन्द गराउन गएका प्रहरी र तरकारी व्यापारीबीच झडप भएको छ । निषेधाज्ञा भएको ठाउँमा भिडभाड गरेको भन्दै प्रहरी तरकारी बजार बन्द गर्न गएको थियो ।

प्रहरी निरीक्षकको कमान्डमा रहेको प्रहरीले बारम्बार सम्झाउँदासमेत बजार हटाउन नमानेपछि प्रहरीले कडाइका साथ बजार हटाउन खोज्दा प्रहरीमाथि तरकारी व्यापारीहरूले अभद्र व्यवहार र ढुंगामुढा गरेका छन् ।

Sponsored

सोही क्रममा एक प्रहरी जवानको हातमा चोट लागेको र प्रहरीको जिपमा समेत सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले बताए ।

उनले प्रहरीमाथि ढुंगामुढा गर्ने र जिपमा क्षति पुऱ्याउने केही तरकारी व्यापारीलाई नियन्त्रणमा राखेको भन्दै कारबाही हुन सक्ने बताए । उनले हाल सरसल्लाह भइरहेकोले कारबाही नै गर्ने वा अन्य के हुने तत्काल भन्न नसकिने बताए ।

यता तरकारी व्यापारीहरुले आफूहरूको तरकारी प्रहरीले फ्याँकिदिएको, बच्चामाथीसमेत कुटपिट गरेको, महिलाहरूमाथि हातपात गरेको आरोप लगाएका छन् ।
सोमबार साँझको घटनापछि मंगलबार बिहान जलेश्वर बजार सुनसान देखिएको छ । प्रहरीले निषेधाज्ञालाई कडाइ गरेको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *